२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

विद्युत प्राधिकरणमा फेरी कुलमान ल्याउने तयारी



काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न उर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पछिल्लो समय विद्युत आपुर्तिमा समस्या भएको भन्दै प्रधानमन्त्री र उर्जामन्त्री हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग असन्तुष्ट छन् ।

बालुवाटारमा मंगलबार उर्जा मन्त्री भुसाललाई बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको बताइएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन पनि सुझाएकी छन् ।

शाक्यले राजीनामा नदिए उनलाई सरकारले स्पष्टीकरण सोध्ने तयारी गरेको बताइएको छ । काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टीकरण सोध्न सक्ने छ । स्पष्टीकरण चित्त नबुझे भन्दै सरकारले उनलाई हटाउन सक्छ ।

नेपालमा दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख समेत उचो पारेका थिए ।

कुलमानलाई पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि यसअघिको केपी ओली सरकारले भने नियुक्ति दिएको थिएन । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो । प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला मंगलबार देउवाले यस्तो निर्देशन दिएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : १० बजे