न्युयोर्कका गभर्नरमाथि यौन दुर्व्यवहारको आरोप, राजीनामा दिन दवाव

२०७८ श्रावण २०, बुधबार १४:५६

अमेरिका । न्युयोर्कका गभर्नर एन्ड्रु कुमोलाई ११ जना सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको बताइएको छ । राज्यकी महान्यायाधीवक्ता लेतितिया जेम्सले पाँच महिना लामो अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्दै उक्त तथ्य बताएकी हुन् ।

६३ वर्षीय कुमोलाई एक जना सहकर्मीले कार्यास्थलमा यौन हिंसाको आरोप लगाएपछि अनुसन्धान थालिएको थियो । प्रतिवेदनमा उनले गलत नियतले महिलाहरूलाई छुने, चुम्बन गर्ने, अँगालो मार्ने र भद्दा प्रतिक्रिया दिने गरेको उल्लेख गरिएको छ।

डेमोक्र्याटिक पार्टीबाट चुनिएका कुमोलाई यसअघि कोरोना महामारीलाई सही ढंगले व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएको थियो ।

प्रतिवदेन सार्वजनिक भएपछि पार्टीभित्रबाटै उनलाई राजीनामा दिन दवाव सुरु भएको छ । ह्वाइटहाउसमा संवाददाताहरूसँग कुरा गर्दै राष्ट्रपति जो बाइडेनले कुमोले राजीनामा दिनु पर्ने बताएका छन् । राज्यको संसदले उनलाई महाअभियोग लगाउन सक्ने भए पनि कुमोले राजीनामा दिनु पर्ने बाइडेनको भनाइ छ।

त्यसैगरी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले पनि विज्ञप्ति जारी गर्दै कुमोले पद छोड्नु पर्ने बताएकी छन् ।

कुमोले भने आफ्नो बोली र व्यवहारलाई केही मानिसले गलत रूपमा बुझेकाले उक्त रिपोर्ट अन्यायपूर्ण भएको बताएका छन् । आफूले गल्ती नगरेकाले राजीनामा नदिने उनको अडान लिएका छन् । कुमो सन् २०११ मा न्युयोर्कको गभर्नरमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार