काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले २२औँ स्थापना दिवस तथा विश्व आदिवासी दिवसको अवसरमा आठ पत्रकारलाई पुरस्कार र दुई मातृभाषा पत्रिकालाई सम्मान गर्ने भएको छ । पुरस्कार साउन २७ गतेका दिन प्रदान गरिने छ ।
पुरस्कृत हुनेहरुमा कुमार यात्रु, राजकुमार दिक्पाल, आङदावा शेर्पा, तिलक पुन, मौसम रोकामगर, रचना श्रेष्ठ, इन्द्रजित मुखिया र भवानी बराल छन् ।
त्यसैगरी, फोनिज मातृभाषा पत्रकारिता सम्मानबाट पहुरा दैनिक र तान्छोपा मासिकलाई संयुक्त रुपमा सम्मान गरिने भएको छ ।
पुरस्कार घोषणा सम्बन्धी फोनिजको बिज्ञप्ती:
मितिः २०७८ साउन २३
प्रेस विज्ञप्ती
‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)–२०७७’, ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)– २०७८’ र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’ छनौट सम्बन्धी निर्णय सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
१. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय सचिवालय बैठकले पुरस्कार तथा सम्मानको छनौटका लागि पुरस्कार तथा सम्मान छनौट समिति गठन गरेको र सो समितिले प्रक्रिया बमोजिम पुरस्कार र सम्मानका लागि पत्रकार र संस्थाको नाम छनौट गरी संघीय सचिवालयलाई बुझाएकोमा मिति २०७८ साउन २७ गते बसेको सचिवालयको बैठकले अनुमोदन गरेको छ ।
२. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)’ गतवर्ष कोरोना भाइरस महामारीका कारण रोकिएकोमा दुवै वर्षका लागि विभिन्न विधामा ८ जना पत्रकार छनौट हुनुभएको छ ।
आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)–२०७७
क) छापा – आङदावा शेर्पा, गोरखापत्र शेर्पा भाषा पृष्ट संयोजक, काठमाडौं
ख) रेडियो – मौसम रोकामगर, जलजला एफएम, रोल्पा
ग) टेलिभिजन – कुमार यात्रु (तामाङ), इन्डिजिनियस टेलिभिजन, काठमाडौं
घ) अनलाइन – राजकुमार दिक्पाल, स्वतन्त्र पत्रकार, पोर्चुगल
आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार –२०७८
क) छापा – तिलक पुन, स्वतन्त्र पत्रकार, कास्की
ख) रेडियो – रचना श्रेष्ठ, रेडियो नेपाल, काठमाडौं
ग) टेलिभिजन – इन्द्रजीत मुखिया, झापा
घ) अनलाइन – भवानी बराल, झिल्को डटकम
३. फोनिजको संघीय समितिले यसै वर्षदेखि स्थापना गरेको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’बाट कैलालीबाट प्रकाशित हुँदै आएको थारु भाषाको पत्रिका पहुरा दैनिक र काठमाडौंबाट प्रकाशित हुने लिम्बू भाषाको पत्रिका तान्छोपा मासिक संयुक्त रुपमा सम्मानित हुनेछन् ।
४. फोनिज अवार्डको राशी जनही पुरस्कार रु. २०,०००।– (बीस हजार) रहेको छ । फोनिज मातृभाषा पत्रकारिता सम्मानको राशी रु. २०,०००।– (बीस हजार) रहेकोमा संयुक्त रुपमा प्रदान गरिनेछ ।
५. फोनिज अवार्ड, फोनिज मातृभाषा पत्रकारिता सम्मान फोनिजको २२ औं स्थापना दिवसको अवसरमा २०७८ साउन २७ गते अपरान्ह २ बजे काठमाडौंमा हुने कार्यक्रममा वितरण गरिनेछ । साथै, सोही अवसरमा फोनिज यूके शाखाले प्रदान गर्ने ‘फोनिज यूके पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान गरिनेछ ।
६. फोनिज संघीय समिति फोनिज अवार्ड र फोनिज मातृभाषा पत्रकारिता सम्मानका लागि छनौट हुनुहुने सबैलाई अग्रीम बधाई ज्ञापन गर्दछ । पुरस्कार र सम्मान छनौट समितिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिदिनुहुने छनौट समितिका संयोजक र सदस्यहरुप्रति फोनिज आभार व्यक्त गर्दछ ।
मनोज घर्तीमगर
महासचिव