२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुन: नियुक्ति भएका छन् । ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको बताइए । यसअघि गत मंगलबार ऊर्जामन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका थिए ।

अघिल्लो कार्यकालमा कुलमानले लोडसेडिङ हटाएका थिए भने लामोसमय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए । उनको चारवर्षे कार्यकाल सकिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पुननियुक्ति गरेको थिएन ।

उनको ठाउँमा सुरूमा प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक बनाइएको थियो भने पछि उनैलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो । कुलमानलाई विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनाउन माग गर्दै त्यतिबेला सडक प्रदर्शनसमेत भएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १२ : ३० बजे