फोनिजको स्थापना दिवसको अवसरमा दश पत्रकार र दुई मातृभाषी पत्रिकालाई सम्मान

२०७८ श्रावण २८, बिहीबार १३:११

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) को २२औं स्थापना दिवसको अवसरमा १० जना पत्रकार र दुई मातृभाषी मातृभाषी पत्रिकालाई सम्मान गरिएको छ ।

फोनिज केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा फोनिज अवार्डबाट ८ पत्रकारलाई पुरस्कार वितरण गरिएको हो । पुरस्कृत हुनेमा भवानी बराल, कुमार यात्रु, तिलक पुन, राजकुमार दिक्पाल, आङदावा शेर्पा, रचना श्रेष्ठ, इन्द्रजित मुखिया, मौसम रोकामगर छन् । पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, फोनिज यूके शाखाद्वारा फोनिज यूके पत्रकारिता सम्मान सन्त गाहामगर र टेकराज थामीलाई प्रदान गरिएको छ । पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

फोनिज मातृभाषा पत्रकारिता सम्मान पहुरा दैनिक र तान्छोपा मासिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ । सो सम्मानका साथमा २० हजार रपैयाँ प्रदान गरिएको छ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले पुरस्कृत तथा सम्मानितहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । साथै, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले चेक हस्तान्तरण गरेका थिए ।

फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा महासचिव मनोज घर्तीमगरले सञ्चालन गरेको कार्यक्रममा प्रमुख आयुक्त गुरुङ, कार्यवाहक अध्यक्ष विष्टका साथै फोनिजका सल्लाहकार संयोजक खिम घले, आङदावा शेर्पा, अनिता गुरुङ, भवानी बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार