काठमाडौँ । तालिबानले अफगानिस्तानको सत्ता फेरी लिएपछि सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धारका लागि पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको हो ।
बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढङ्गले काम गर्न निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
यसैबीच अफगानिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत ३ सय ८० जना नेपालीलाई भने अमेरिकी सैनिकले उद्धार गरेर दोह पुर्याएको बताइएको छ ।
अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरुको उद्धार गर्न सरकारले शनिबार एक कार्यदल गठन गरेर काम अघि बढाइसकेको छ । परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखहरु एवं अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सोसरहका सदस्य रहने गरी कार्यदल गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकीन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शङ्करदास बैरागीको कार्यकक्षमा शनिबार अन्तर मन्त्रालयको बैठक बसेको थियो । उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ ।
यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न बैठकले आग्रह गरेको छ । काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्रसङ्घको कार्यालयलाई औपचारिक पत्राचार गरिसकेको छ ।
यसैबीच प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षितरूपमा तत्काल उद्धार गर्न कूटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमवारको बैठकले तालिवान विद्रोही राजधानी काबुल नियन्त्रणमा लिने प्रयासमा रहेकाले भिडन्तका क्रममा नेपाली नागरिक अप्ठ्यारो स्थितिमा पर्नसक्ने भन्दै छिटोभन्दा छिटो हवाई उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले अफगानिस्तानमा भइरहेको घटनालाई केही समयदेखि नियालीरहेको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीलाई सकुशल स्वदेश ल्याउन मन्त्रालयले गम्भीररूपमा प्रयास गरिरहेको बताएका थिए ।