विपक्षीविनै लुम्बिनीका मुख्यमन्त्री केसीलाई विश्वासको मत

२०७८ भाद्र ७, सोमबार १७:५२

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विपक्षीले वहिस्कार गरेपछि प्रदेशसभाबाट विश्वासको मत लिएका छन् । उनको पक्षमा ८० सदस्यीय सभाको ४२ मत परेको छ ।

सभाका उपसभामुख कृष्णी थारु तटस्थ बसिन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो । त्यसैले विपक्षमा मत परेन ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेकपा एमालेले भने मुख्यमन्त्रीलाई समर्थन गर्ने अजय शाही र विमलाकुमारी खत्री वली आफ्नो दलको सांसद रहेकाले उनीहरुलाई कारवाही गर्नु पर्ने माग गर्दै आएको छ । एमालेले उनीहरुले दलको ह्वीप नमानेको भन्दै निष्कासनको कारबाही गरी पदमुक्त गर्न प्रदेशसभामा जानकारीसमेत गराएको छ । तर सभामुख पूर्णबहादुर घर्तीले उनीहरु एमाले सांसद रहेको पुष्टि नभएको भन्दै कारबाही गर्न अस्वीकार गरेका छन् ।

एमालेले भने उनीहरुलाई कारबाही नगरेसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने बताएको छ ।

सम्बन्धित समाचार