- मच्छेदेवी गुरुङ
अमेरिकाको न्युयोर्कमा दुई दिन भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सव (निफ ) अवार्ड नेपाली आदीवासी नेवा भाषाको चलचित्र ”जा मनः गुभाजु”ले हात पारेको छ । महोत्सवमा सहभागी विभिन्न भाषाका ७ वटा चलचित्र मध्ये नेवा भाषाको चलचित्र जा मनः गुभाजुले उत्कृष्ट आदिवासी चलचित्र अवार्ड जितेको हो ।
चलचित्र गुभाजुले उत्कृष्ट चलचित्र अवार्डका साथै १ हजार १ सय ११ डलर नगद पुरस्कार प्राप्त गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महाबाणिज्य दूत विष्णुप्रसाद गौतमले अवार्ड तथा पुरस्कार संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि चलचित्र गुभाजुले आफ्नो पोल्टामा पारेको छ । चलचित्रमा नायक शुशिल राजेपाध्याय स्वयंको पटकथा रहेको छ । महाबाणिज्य दूत गौतमले यस्ता चलचित्र महोत्सवले आदिवासी जनजातिको संस्कृतिलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आइतबार राती अबेरसम्म सञ्चालन भएको अवार्ड वितरण समारोहमा विभिन्न १० विधामा पुरस्कार वितरण गरिएको थियो । उत्कृष्ट नायिकाको अवार्ड मगरभाषाको चलचित्र ट्याङ चालकका नायिका तिला मगरले जितेकी छिन् । गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट संगीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेको छ । मिं न्होर्वैट चलचित्रको निर्देशन उमान सिं (माओत्सेतुङ) गुरूङ र संगीत तेजेन्द्र गुरूङले गरेका हुन् । हृयोल्मो जातिको मेतोकले उत्कृष्ट छायाकन र दर्शकको रोजाई पुरस्कार जितेको छ । लिम्बु जातिको के चलचित्रले उत्कृष्ट कथा र तामाङ जातिको चलचित्र प्रङ्नाका छिमी मेम्बा तामाङले उत्कृष्ट भेषभुषाको पुरस्कार प्राप्त गरेको थियो ।
२७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले आदिवासी जनजातिको भाषा, भेषभुषा, संस्कृतिको संरक्षण र संवर्द्धनमा सहयोग पुर्याउने उदेश्यले महोत्सब आयोजना गरेको जनाएको छ । फिप्नाले महोत्सबाट नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा व्यवसायिकरण गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।
नेपाली र बीच बीचमा अंग्रेजी भाषाको मिसावट गर्दै मीस नेपाल सदिक्षा श्रेण्ठले सञ्चालन गरेको अवार्ड वितरण समारोहमा आदिवासी जनजातिका विभिन्न संस्कृति झल्कने प्रस्तुतिले हललाई रोमञ्चक तुल्याएको थियो । त्यस्तै गायकद्धय राजु लामा र जगदिस समाललाई हलमा उपस्थित भिडको चित्त बुझाउन हम्मे हम्मे परेको थियो ।
हलमा उपस्थित झण्डै तीन सय जना सहभागी दर्शकहरुलाई आ-आफनो चर्चित गीतहरु प्रस्तुत गरी मध्यरातसम्म नचाएका थिए । गायक राजु लामाको अन्तिम प्रस्तुतिसम्म पनि दर्शकले वान्स मोर वान्स मोर भनेर चिच्याएपछि गायक लामाले आफनो मोबाइल निकालेर दर्शकको आवाजलाई कैद गर्दै आफ्नो स्टोरीमा राख्ने जानकारी दिएर अन्तिम प्रस्तुति हिमाल देखेर गीत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा नेपालबाट आएका चर्चित गायक हेम वाईबाले प्रस्तुत गरेका तामांग़ समाजमा सामाजिक महत्व राख्ने परम्परागत गीत ‘म्हाने दोरा’ भाका दर्शकहरुले अत्याधिक मन पराएका थिए ।
कोभिडका बीच मध्यरातसम्म पनि दर्शकको भीड उत्तिक्कै बाक्लो थियो । कार्यक्रममा कलाकारहरुले नेपाली राष्ट्रिय गान तथा अमेरिकन राष्ट्रिय गान गाएर कार्यक्रम शुरुवात गरेका थिए। विभिन्न आदिवासी समुदायका सांस्कृति झल्कने गीत र नृत्यहरु प्रस्तुत गरी कार्यक्रमलाई थप रोमाञ्चक बनाइएको थियो ।
कार्यक्रममा प्रस्तुत गरिएका नृत्यहरु वसन्त डान्स सेन्टरका प्रशिक्षक विजय नकर्मीले कोरियोग्राफ गरेका थिए । कार्यक्रम समापन गर्दै अध्यक्ष चेम्जोङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने जातीय संस्थाका प्रतिनिधीहरु, स्पोन्सरहरु, स्वंयसेवकहरु, कलाकारहरु तथा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरे ।