एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीद्वारा सनाखत सकियो, प्रमाणपत्र आजै दिइने

२०७८ भाद्र ९, बुधबार १७:००

काठमाडौँ । निर्वाचन आयोगले तोकेकै समयमा पुगेर माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेका छन् ।

आयोगले अपरान्ह २ बजेसम्मका लागि दिएकोमा समयभित्रै पुगेर नेताहरुले सनाखत गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका छन् । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११:३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

उक्त दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेकामा दुईजना मात्र सनाखतमा सामेल हुन नसकेको जानकारी दिए । केन्द्रीय सदस्य भास्कर काफ्ले र रवीन कोइराला सो सनाखतमा उपस्थित भएनन् । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका थिए । उनी उपचारको क्रममा भारतको राजधानी नयाँ दिल्लीमा छन् ।

सङ्घीय संसद्का २९ जना सांसदले पनि उक्त दलको पक्षमा सनाखत गरेका छन् । अरू दुईजनाको प्राविधिक समस्याका कारण सनाखत हुन बाँकी रहेको नेता पाण्डेले जानकारी दिए । आयोगमा उपस्थित भएर पनि सनाखत गर्न नपाएका केही सांसदका लागि विद्यमान अध्यादेश र ऐनका कारण प्राविधिक समस्या देखिएको जानकारी दिइएको छ । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्ताखत नभए पनि आज उक्त दलको पक्षमा सनाखतका लागि आयोग पुगेका थिए ।

निर्वाचन आयोगले आजै नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको प्रमाणपत्र दिने बताइएको छ । सनाखतपछि नेता पाण्डेले भने, “दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गर्ने तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुक पार्टीमा सामेल हुन पाउने व्यवस्था छ, त्यसका लागि काम गर्नेछौँ ।”

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो । यस्तै राष्ट्रियसभाका तीन र प्रतिनिसिभाका ३४ गरी ३७ सांसदमध्ये १५ जना अर्थात करिब ३७ प्रतिशतले सनाखत गरेको जनाइएको छ । उक्त पार्टीका दुई सांसद भने हाल निलम्बित छन् ।

प्रस्तावित पार्टीको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतोलाई प्रस्ताव गरिएको छ । पार्टीमा ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने गरी नामावली बुझाइएको छ । पार्टीको चुनाव चिन्ह भने साइकल प्रस्ताव गरिएको छ ।

सनाखतपछि पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा ठाकुरले कानूनी मान्यताका लागि सनाखत गर्न आयोगले बोलाएको समयमै उपस्थिति भएर सनाखत गरेको जानकारी दिए ।

सम्बन्धित समाचार