धर्म गुरुहरु बोलाएर उपसभापति निधिको सम्पर्क कार्यालय उद्घाटन

२०७८ भाद्र ११, शुक्रबार १७:०८

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै सम्पर्क कार्यालय स्थापना गरेका छन् । उनले शुक्रबार बिभिन्न मन्दिरका पुजारीहरु बोलाएर सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।

उनले नेता कार्यकर्तासँग भेटघाटका लागि नयाँ बानेश्वरस्थित थापा गाउँमा सम्पर्क कार्यालयको खोलेका हुन् । सो अवसरमा उनले आफू कसैलाई पराजित गर्न र ‘रिटाएर’ गर्न तथा असक्षम घोषण गर्न पार्टी सभापति पदमा उम्मेदवरीको घोषणा नगरेको बताए ।

“कांग्रेसलाई बलियो बनाउन र आगामी सबै तहका निर्वाचनमा पार्टीलाई बहुमत हासिल गर्ने मेरो चाहना हो । यसैका लागि पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेको हुँ” उनले भने । आफू पार्टीका संस्थापक नेता बिपी कोइरालाको प्रेरणा र योगदानले नै आजको अवस्थामा आइपुगेको उनको भनाइ थियो । संविधानसभाबाट कांग्रेसको बहुमत नहुँदा पनि आफूहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी राजनीतिक व्यवस्थासहितको संविधान जारी गर्न सफल भएको उल्लेख गर्दै उनले कांग्रेसले यसको कार्यान्वयन गर्दै स्वामित्व लिने र संविधानलाई अलपत्र पर्न नदिने स्पष्ट पारे ।

गत तीन वर्षमा संविधानका मर्ममा विश्वास नगर्ने राजनीतिक दल सत्तामा हुँदा मुलुकमा सबै क्षेत्रमा विकृति देखिएको धारणा व्यक्त गर्दै उनको भनाई थियो । “आगामी आमनिर्वाचनमा हामी यो विषय जनतामाझ उठाउँछौँ” उनले भने । आगामी निर्वाचनमा कांग्रेस गुट उपगुटभन्दा माथि उठेर आओस् भन्ने जनताको चाहना रहेको उनको भनाइ थियो ।

पार्टीको क्रियाशील सदस्यतामा ३५ प्रतिशतभन्दा बढी युवा वर्गको प्रतिनिधित्व रहेको अवगत गराउँदै उनले आफू युवा वर्गका लागि पार्टीमा सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको बताए । फरक प्रसङ्गमा पूर्व उपप्रधानमन्त्री निधिले संविधानले सबैलाई धार्मिक स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको जनाउँदै सबैले सबै धर्मको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति तथा विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्ताको सहभागिता थियो ।

सम्बन्धित समाचार