२२ कार्तिक २०८१, बिहिबार | Fri Nov 8 2024

अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध समाप्त : २० वर्षपछि अफगानिस्तानबाट फर्कियो अमेरिका



काठमाडौं । संयुक्त राज्य अमेरिकाको सेनाले झन्डै २० वर्षपछि पूर्ण रूपमा अफगानिस्तान छाडेको छ । अमेरिकी इतिहासमै सबैभन्दा लामो युद्धको रुपमा रहेको अफगानिस्तान युद्धमा अमेरिकाले दुई ट्रिलियन डलर र झण्डै २५ सय सैनिक गुमाए ।

तर, अमेरिकी सैनिकको फिर्तीसँगै तालिवानले पुन: अफगानिस्तानको सत्ता कब्जा गरेको छ । आफ्ना नागरिक र सहयोगीहरुलाई उद्दारको लागि भनेर कब्जामा रहेको हमिद कारजाई इन्टरनेशनल एयरपोर्टबाट सोमबार राती अमेरिकी सैनिकको अन्तिम् टुकटी फिर्ता भएपछि त्यो पनि तालिवानहरुले कब्जा गरेको छ । उनीहरुले विजयत्सव मनाएका छन्, गोली पड्काएर ।

काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जेनरल क्रिश डोनाह्यु अन्तिम उद्दार उडानमा सहभागी भएर गएको बताइएको छ । सेना फिर्ती अभियानको सुपरिवेक्षण गरेका जेनरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्दार गरेको बताएका छन् ।

बीबीसीका अनुसार अमेरिकी सेनाका सेन्ट्रल कमान्डका प्रमुख जेनरल मकेन्जीले हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभन्टीन विमान उडेको र योसँगै सैन्य उद्दारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको उल्लेख गरेका छन् । अमेरिकाले सन् २००१ को सेप्टेम्बर ११ मा न्यूयोर्कको ट्वीन टावरमा हमला भए लगतै विन लादेनको खोजी गर्दै अफगानिस्तानमा आक्रमण गरेको थियो । विन लादेन दिन नमानेको भन्दै त्यस वेलाको तालिवान सरकारबिरुद्ध अमेरिकाले युद्ध सुरु गरेको केही सातामै तालिवान सत्ताच्युत भएको थियो ।

अहिले अमेरिकी सेना फर्कंदै गर्दा नै अफगानिस्तान फेरी तालिवानको हातमा पुगेको छ । अफगानिस्तानको राष्ट्रपति भागेर यूएइ पुगेका छन् ।

तालिवानले फेरी सत्ता लिएपछि हजारौं अफगानीहरु देश छाडेर भाग्न चाहेका छन् । यही क्रममा कतिपयले ज्यानसमेत गुमाएका छन् । अमेरिकीसहित बहुराष्ट्रिय सैनिकले आफ्ना सहयोगीहरुलाई उद्दार गरेर विभिन्न देशहरुमा पुर्‍याइरहेको छ ।

२० वर्षमा प्रमुख घट्नाक्रम

– अमेरिकाको नेतृत्वमा रहेको बहुराष्ट्रिय सैनिकले सन् २००१ अक्टोबर ७ मा अफगानिस्तानको तालिबान र अल-कायदाका अखडाहरूमा बम आक्रमण गर्न सुरु गर्यो । काबुल, कान्दहार र जललाबाद निसानामा बम बर्सायएको थियो ।
– सन् २००१ नोभेम्बर १३ मा बहुराष्ट्रिय सैनिकको साथ पाएर तालिबानविरोधी विद्रोहीहरूको समूह द नोर्दन अलायन्सले काबुल कब्जा गर्‍यो ।
– सन् २००९ फेब्रुअरी ७ मा अमेरिकी राष्ट्रपति बराक ओबामाले अफगानिस्तानमा खटाइएका फौजको सङ्ख्यामा उल्लेख्य वृद्धि गरी १ लाख ४० हजारको संख्या पुर्‍याए ।
– सन् २०१४ डिसेम्बरमा नेटोद्वारा अफगानिस्तानको आफ्नो फौजी कारबाही अन्त्य भएको घोषणा गर्‍यो । त्यसपछि अमेरिकाद्वारा पनि हजारौँ सैनिक स्वदेश फिर्ता गर्न थाल्यो ।
– सन् २०२० फ्रेबुएरी २९ मा अमेरिका र तलिबानबीच अफगानिस्तानमा ‘शान्ति ल्याउने सम्झौता’ मा दोहामा हस्ताक्षर भयो । त्यसमा अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र सबै सैनिक फिर्ता गरिसक्ने वचनबद्धता थियो ।
– सन् २०२१ एप्रिल १३ मा अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता भइसक्ने घोषणा गरे ।
– सन् २०२१ अगस्ट १६ मा एक महिनाभन्दा केही बढी अवधिमा तलिबानद्वारा काबुलसहित अफगानिस्तानका प्रमुख सहर र नगरहरू कब्जा गर्‍यो ।
– सन् २०२१ अगस्ट ३१ मा अमेरिकाले अफगानिस्तानबाट सबै फौज फिर्त भएको घोषणा गर्‍यो ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १२ : ४८ बजे