२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

शीर्ष नेतृत्व बैठकः अझै मिलेन भागबण्डा



काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरु दैनिक विहान–बेलुकै छलफलमा जटेपनि भागबण्डा मिल्न सकेको छैन । दलहरुभित्र मन्त्री दावी गर्नेहरुको चर्को दवावले गर्दा सरकारले पूर्णता पाउन सकेको छैन ।

मंगलबार बिहान पनि सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको थियो । यसअघि पनि लगातार छलफल भइरहेको छ ।

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए पनि नतिजा भने निस्किएको छैन ।

यसअघि नै कुन पार्टीले कति मन्त्रालय पाउने भन्ने टुंगो लागि सकेको बताइए पनि नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएकोले बताए पछि छलफल टुंगोमा पुग्न नसकेको बताइएको छ ।
साथै नेपालले महत्वपूर्ण मन्त्रालयहरुको पनि दावी गरेपछि गठबन्धनका अरु नेताहरु समस्यामा परेको बताइएको छ ।

यसैबीच प्रधानमन्त्री देउवाले भदौ २२ गतेभन्दा अघि मन्त्रिमण्डल विस्तार नहुने संकत गरेका छन् । कांग्रेस नेताहरुसँग उनले निर्वाचन आयोगमा फुटेर बनेका नेकपा समाजवादीलाई भदौ २२ गतेसम्म जनप्रतिनिधिहरुले पार्टी रोज्न पाउने समय दिएकोले त्यस बेलासम्म कुरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका हुन् । यद्यपी संघीय मन्त्रिपरिषद्लाई पूर्णता दिने कुरासँग प्रदेश र स्थानीइ तहको जनप्रतिनिधिको कुनै सरोकार रहँदैन ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ५ : ५३ बजे