कल्याण गुरुङले गरे काँग्रेस सभापतिको उम्मेदवार घोषणा

२०७८ भाद्र १६, बुधबार १६:३८

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । गुरुङले आगामी मंसिर (९–१३) मा हुने काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सभापतिको उम्मेदवारी घोषणा गर्दै गुरुङले काँग्रेसको संरचनामा वडादेखि केन्द्रीय सभापतिलाई व्यवस्थित बनाउने दावी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर नेता गुरुङले सभापति उम्मेदवारी घोषणा गरेका हुन् । गुरुङ नेविसंघका पूर्वअध्यक्षसमेत हुन् । पार्टीमा उनी रामचन्द्र पौडेल नजिक मानिन्छन् ।

पत्रकार सम्मेलनमा गुरुङले नेता कार्यकर्ताको मागअनुसार उम्मेदवारी दिएको र चाँडै आफ्नो टिम सार्वजनिक गर्ने बताए ।

वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले फेरी एकपटक नेतृत्वमा दोहोरिने इच्छा देखाएका छन् । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ ।

कांग्रेस केन्द्रीय महाधिवेशन ९–१३ मंसिरसम्म हुने छ । वडा र पालिका तहको भने यसै महिना सम्पन्न हुँदै छ ।

गुरुङले आफुले सभापति पदमा जितेमा पटक पटक एउटै व्यक्ति मन्त्री र प्रधानमन्त्री हुन पाउने व्यवस्था परिवर्तन गर्दै एक व्यक्ति दुई पटकभन्दा बढी समय प्रधानमन्त्री र मन्त्री हुन नपाउने व्यवस्था गर्ने दावी बताए । साथै आफु प्रधानमन्त्री भए मुलुकमा ६ महिनाभित्र भ्रष्टाचार नियन्त्रण गर्ने योजना रहेको सुनाए ।

काँग्रेसमा सभापतिका लागि यसअघि नेता विमलेन्द्र निधिले सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । त्यस्तै हालका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, शेखर कोइराला र सुजाता कोइरालाले समेत सभापतिमा उम्मेदवारी दिने बताउदै आएका छन् ।

सम्बन्धित समाचार