भारत र एमसीसीबिरुद्ध प्रदर्शन गरे कारवाही हुने

२०७८ भाद्र २०, आईतवार १३:४१

काठमाडौं । सरकारले छुट्टछुट्टै विज्ञप्ति निकालेर भारत र एमसीसीबिरुद्ध प्रदर्शन गरे कारवाही गर्ने चेतावनी दिएको छ । युवाहरुले अमेरिकी मिलिनियम च्यालेन्स कर्पोरेशन र भारतको बिरुद्धमा प्रदर्शन गर्न थालेपछि यस्तो चेतावनी दिएको हो ।

आइतवार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस निकाल्ने र पुत्ला जलाउनेमाथि कारबाही चेतावनी दिइएको हो । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी छन् ।

‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्न गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उछृंखल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।’

केही दिनयता हालै मात्र एमालेबाट फुटेर सत्ताधारी बनेका नेकपा (एकीकृत समाजवादी) का युवा कार्यकर्ताले भारतबिरुद्ध प्रदर्शन गरिरहेको छ । उनीहरुले दार्चुलामा भारतीय सिमा सुरक्षा फौज एसएसबीले तुईन काट्दा महाकालीमा नेपाली युवा वेपत्ता भएको र पटक पटक नेपाली सिमाभित्र भारतीय हेलिकप्टर उडेको विषयमा सरकारले कुनै कदम चाल्न नसकेको भन्दै विरोध गरिरहेको छ । शनिबार भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका थिए ।

यसअघि शनिबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विदेशी सहयोगका परियोजना र छिमेकीविरुद्ध प्रदर्शन गर्नेमाथि निगरानी भइरहेको जनाउँदै कारबाही चेतावनी दिइएको थियो । यसमा एमसीसी उल्लेख नगरिएपनि पछिल्ला दिनहरुमा युवाहरुले एमसीसीको विरोध गर्दै अमेरिकी दुतावास अगाडि प्रदर्शन गरिरहेका छन् । त्यसैलाई लक्षित गरेर चेतावनी दिइएको बुझ्न सकिन्छ ।

 

सम्बन्धित समाचार