४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

प्रतिनिधिसभामा एमालेको विरोधका बीच अध्यादेश पेश



काठमाडौं । प्रतिनिधिसभाको बुधवारको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ पेश गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले उक्त अध्यादेश पेश गर्न समय दिएका हुन् ।

प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अवरोध सुरु गरेपछि यसअघिका दुई बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो । सभाको अर्को बैठक यही भदौ २५ गते शुक्रबार दिउँसो १ बजे राखिएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले   कडा रुपमा प्रस्तुत भयो । सङ्घीय संसद्को नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष एमालेले अवरोध गरेपछि १५ मिनेट स्थगन भई सुरु भएको दोस्रो बैठकमा पनि  सांसदले नाराबाजीसहित वेल घेराउ गरेका थिए ।

उनीहरूले आफूले कारबाही सिफारिस गरेका सांसद्लाई बैठकमा नराख्न माग गरेका थिए । विरोधकै बीच सभामुखले आफ्ना अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम प्रस्ताव गरेका थिए ।

पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक आरम्भपछि राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर अधिवेशन प्रारम्भका अवसरमा सांसदलाई स्वागत गरेपछि एमालेका सांसदले आआफ्ना स्थानबाट उठेर अवरोध गरेका थिए । सभामुख सापकोटाले सांसदलाई उनीहरूको मागबारे आफ्नो ध्यानाकर्षण भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि नाराबाजी जारी राखेका थिए ।

एमालेले कारबाहीका लागि सिफारिस गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही नगरेर एमाले विभाजनमा सहयोगी बनेको आरोप लगाउँदै सभामुखको भूमिकाप्रति आपत्ति जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : २५ बजे