सर्वदलीय बैठकमा एमालेसँग वार्ता गर्न सभामुखलाई सुझाव

२०७८ भाद्र २८, सोमबार १७:४९

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि भनेर सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले नै उपस्थित नभएपछि कुने निष्कर्षविना सकिएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा नाराबाजी गर्दै अवरोध गर्दै आएको छ । जसका लागि बैठक बोलाइएको उसैले बहिस्कार गरेपछि बैठक निष्कर्षहीन बनेको हो ।

बरु नेताहरुले सभामुख सापकोटालाई एमालेसँग संवाद गर्नका लागि आग्रह गरेका छन् । नेताहरुले संसदमा अवरोध गरिरहेको एमाले नै बैठकमा सहभागी नभएपछि त्यसको कुनै अर्थ नहुने भन्दै एमालेसँग संवाद गरेर गतिरोध खोल्न सुझाएको हो ।

सभामुखले पनि एमालेसँग संवाद गरेर अर्को सर्वदीय बैठक बोलाउने बचन दिएको नेताहरुले बताएका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए।

एमालेले लगातार संसद बैठक अवरुद्ध गरेपछि सभामुखले त्यसबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए । सभामुख सापकोटाले बोलाएको बैठकमा नगएको प्रमुख प्रतिपक्षी एमालेले सापकोटालाई पदबाट राजीनामा दिन दबाब दिएको छ ।

गत वैशाख २७ गते एमालेले लगाएको ह्वीप उल्लंघन गरेका माधव नेपालसहितका १४ सांसदमाथि गरिएको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले सभामुखलाई राजीनामा दिन भनेको हो ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले अहिलेको संकटको निकास दिनका लागि सभामुखले या माधव नेपालसहित १४ सांसदलाई गरिएको सूचना टाँस्नुपर्ने या त राजीनामा दिनुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार