२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

क्यानडाका प्रधानमन्त्री ट्रुडो ४९ बर्षमा तेस्रो पटक पनि निर्वाचित



ओट्टावा । क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् । मतगणना जारी रहेकाले अहिले उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उनी र उनको पार्टीको जितसँगै तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।

निर्वाचनमा उनको दल र उनी फेरि विजयी हुने पुर्वानुमानअनुसार नै विजयी भएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । उनी यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुँदै आएका छन् । त्यसपछि उनले पछिल्लो ६ वर्षमा तीन पटक आम निर्वाचन जितेका छन् ।

अहिले ४९ बर्ष भएका टुडोले कुबेक शहरको पापीनोबाट सांसदमा निर्वाचित भएको राज्यद्धारा सञ्चालित प्रसारण संस्था सीबीसीले जनाएको छ । सीबीसी र सीटीभी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका थिए । प्रधानमन्त्री ट्रुडोले पनि आफू निर्वाचित भएको जानकारी दिंदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरुलाई धन्यवाद दिएका छन् ।

अहिले मतगणना भइरहँदा १४१ ठाउँमा उनको पार्टीको अग्रता रहेको छ भने विपक्षी दल कन्जरभेटिभ ९९ ठाउँमा अगाडि देखिएको छ । क्यानडामा अहिले ३३८ सिटका लागि निर्वाचन भएको हो । बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नु पर्दछ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  २ : ४३ बजे