काठमाडौँ । १३ औँ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्किएका छन् ।
साफ च्याम्पियनसिपको करिब २८ वर्षपछि नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
फाइनलमा पराजित भएपछि पहिलो पटक साफको उपविजेता बनेको नेपाली फुटबल टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
त्यस्तै नेपाली टोलीलाई स्वागत गर्न फुटबल समर्थककोसमेत बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले ‘थ्याङ्क्यु अब्दुल्लाह’ भन्दै नारा लगाएका थिए । प्रशिक्षक अल्दुल्लाह अल्मुताइरी भने माल्दिभ्सबाटै कुवेत प्रस्थान गरेका छन् ।
अल्मुताइरीले फाइनल खेलपछि भने दुई साता आराम गर्ने र त्यसपछि मात्र नेपाल फर्कने वा नफर्कने अन्तिम निर्णय लिने बताएका छन् ।
विभिन्न पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो भने भारतले लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलङ्कालाई हराएको थियो । यस्तै भारतसँग पराजित भएको नेपालले बङ्गलादेशसँग बराबरी खेलेको थियो । १३ औँ संस्करणसम्म आइपुग्दा भारतले भने आठौँ पटक साफ च्याम्यिनसिपको उपाधि चुम्न सफल भयो ।