काठमाडौं । बिगत अढाइ दशकदेखि अमेरिकाको न्युर्योकमा बसोबास गर्दै आएकी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टीकी अध्यक्ष साहित्यकार गीता खत्रीको आठौं कृति ‘उडेको आकाशः डुलेको धर्ती’ नियात्रासङ्ग्रह बिहीबार लोकार्पण भयो ।
१०३ वर्षीय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको हातबाट उहाँकै घरमा कृतिको विमोचन गरिएको हो । कृतिको समिक्षा प्रसिद्ध नियात्राकार युवराज नयाँघरेले गरेका थिए । कृतिको बारेमा प्रा. डा. खगेन्द्र लुइटेलले चर्चा गर्दै स्रष्टा गीता खत्रीलाई बधाई दिए ।
कार्यक्रमको आयोजना अनेसास नेपाल च्याप्टरले गरेको थियो भने कार्यक्रमको अध्यक्षता अनेसास नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहाडीले गरेकी थिइन् । अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष श्री राजेन्द्र के.सी.ले कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै स्रष्टा गीता खत्रीलाई बधाई दिए ।
त्यसैगरी अनेसास नेपाल च्याप्टरको अर्की उपाध्यक्ष सरिता अर्यालले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा उपस्थित अनेसासका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, केन्द्रीय सचिव बिमला निरौला, अनेसास केन्द्रीय सदस्य डा. रेणुका सोलु, अनेसास पुरस्कार समितिका सदस्य तथा अनेसास बोष्टन च्याप्टरकी अध्यक्ष दिपा राई पुन, साहित्य पोष्टकी प्रधान सम्पादक अश्विनी कोइरालालगायतले खत्रीलाई नयाँ कृतिका निमित्त बधाइ तथा शुभकामना दिएका थिए ।
स्रष्टा खत्रीले कृतिको जन्मका सम्बन्धमा बोलेकी थिइन् । निजी स्वार्थका लागि अरुको जीवनसँग खेलबाड नगरौं भन्ने सोच बनाएर मनले चाहेर पनि धेरै जनालाई कार्यक्रममा बोलाउन नसकिएको भनाई आयोजक अनेसास नेपाल च्याप्टरको थियो ।