९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

समुदायको शिर निहुराउने काम नगर्नु: प्रा. डा. जगमान गुरुङ



काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङले गुरुङ समुदायका कुनै पनि सङ्घसंस्था वा व्यक्तिले समुदायलाई अप्ठ्यारोमा पार्ने वा शिर निहुराउने काम गर्न नहुने बताएका छन् ।
बुधबार आयोजित बुद्ध बाटिका उद्यान उद्घाटन तथा बुद्धबचन  र गुरुङ बौद्ध संस्कार नामक दुई पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
”हामीले सकेसम्म आधिकारिकता र आफ्नो कर्मलाई राम्रो गर्नु पर्छ’ उनले भने, ”हामी कसैले पनि समुदायको शिर निहुराउने काम गर्नु हुन्न । अरूले हेर्दा गुरुङहरू यस्तो पो रहेछ भन्ने पार्न हुन्न ।” उनले अप्ठ्यारो नै अबस्था आउने स्थिति भए स‌ंस्कारमा सुधार गर्न सकिने पनि बताए ।
कार्यक्रममा पूर्व मन्त्री तोरणबहादुर गुरुङले लेखकहरूले मेहनतका साथ पुस्तक लेखेको उल्लेख गर्दै त्यसमा कसैको असहमति भए सुझावको रूपमा राख्न सकिने तर विगतमा देखिए जस्तो उग्र खालको गतिविधिहरू गर्न नहुने सुझाए ।
बुद्ध बाटिका उद्यान तमु बौद्ध सेवा समितिले अनामनगरस्थित आफ्नो भवनको परिसरमा निर्माण गरिएको छ ।
बुद्ध बचन नामक पुस्तक अमेरिकाबासी खेन्पो वसन्त गुरुङ र चोग डीबी गुरुङले स‌ंयुक्त रूपमा लेखेका हुन् भने गुरुङ बौद्ध संस्कार तमु बौद्ध सेवा समितिका अध्यक्ष ध्रुव बहादुर गुरुङले सङ्कलन तथा लेखन गरेका हुन् ।
दुवै पुस्तकमा गुरुङ पुरोहित लामाले विभिन्न अवसरमा वाचन गर्ने श्लोकहरू तथा शुत्रहरूलाई नेपाली भाषामा अनुवाद गरेर त्यसको अर्थ उल्लेख गरिएको छ ।
बुद्धबचनमा गुरुङका विभिन्न किसिमा कर्मकाण्ड तथा उत्सवका बेला लामाहरूले वाचन गर्ने श्लोक तथा सूत्रहरू उल्लेख गरिएको छ । यसलाई प्रवासमा वा लामा नभएको ठाउँमा अन्य मान्छेहरूले पनि उक्त सूत्रहरूलाई वाचन गरेर संस्कारको विधि पुर्‍याउन सकिने उल्लेख गरिएको छ ।
त्यसै गरी भगवान् बुद्धको जीवनीलाई पनि संक्षिप्तमा यस पुस्तकमा उल्लेख गरिएको छ भने गुरुङ संस्कारका विभिन्न पक्षहरूको बारेमा चर्चा गरिएको छ ।
कार्यक्रममा लेखकहरू खेन्पो वसन्त गुरुङ र ध्रुव बहादुर गुरुङले पुस्तकका बारेमा प्रकाश परेका थिए भने पत्रकार खिम घले र आरबी गुरुङले पुस्तकमाथि टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ११ बजे