न्युयोर्कमा मनाइयो नेपाल संवत र म्ह पूजा

२०७८ कार्तिक २४, बुधबार ०३:५६

न्युयोर्क नेवा गुठीले विगत झै यस पटक पनि विशेष कार्यक्रमको साथ नेपाल संवत ११४२ र म्ह पूजा एकै साथ भव्य रुपमा मनाइयो । नेवार समुदायको महान पर्व नेपाल सम्वत र म्ह पुजाको यो बिशेष दिनमा न्युयोर्कको ज्याक्सन हाइटमा नेवारी समुदाय विहानै भेला भई रातो टीका लगाई उसिनेको अण्डा र माछाको सगुन दिई पाहुनाहरुको स्वागत गरिएको थियो । उक्त अवसरमा उपस्थित सवै जना भिन्तुनाको शुभकामना आदानप्रदान गरिएको थियो ।

गुठीका उपाध्यक्ष राजेन्द्र महर्जनले स्वागत गरि आयोजित कार्यक्रममा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका काउन्सिलर गणेशप्रसाद अधिकारीले नया वर्ष ११४२ को अवसरमा सवैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले नेपाल संवत नेपालको मौलिक संवत भएकोले यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै नेवा गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जन, गुठीका सस्थापक एवं सल्लाहकार विके नेवा, लोककवि राजभाइ जकमी, नेवा नखका उपाध्यक्ष महेन्द्र बज्राचार्य, माइकल मियन्कोले शुभकामना दिएका थिए । कार्यक्रममा सहभागीहरु नेवारी वाजागाजाका साथ नाच्दै नगर परिक्रमा गरेका थिए ।

गुठीका महासचिव सन्तोष महर्जनद्धार सञ्चालित कार्यक्रमको अन्त्यमा गुठीका अध्यक्ष विजयमान सिंहले उपस्थित सवैलाइ धन्यवाद दिएका थिए । गुठीले विहानी कार्यक्रमपछि साझमा नेवारी परम्परा अनुसार सामूहिक म्ह पूजा आयोजना गरिएको थियो ।म्ह पूजासंगै सामूहिक नेवारी भोज पनि समेत आयोजना गरिएको थियो । म्ह पूजामा फिफनाका अध्यक्ष लोक चेम्जोङले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सफल बनाउनमा योगदान पुर्‍याउने गुठीका निवर्तमान र वर्तमान पदाधिकारीहरु, सहयोगीहरुलाई नेवा गुठीका संस्थापक एवं सल्लाहकार बीके नेवा, गुठीका भूपू अध्यक्ष आदित्य महर्जन र धर्मेन्द्र गोपालीले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा गुठीले लोककवि राजभाइ जकमीलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा गुठी कार्य समितिका सदस्य सजना महर्जनले उपस्थित सवैलाई स्वागत मन्तव्य दिएका थिए ।

सम्बन्धित समाचार