७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

नेपाली आमाको १३ औं पुण्य तिथिमा न्युयोर्कका मेयर



न्युयोर्कका मेयर एरिक आडम्सले एक नेपाली आमाको पुण्य तिथिमा सहभागी भएका छन् । त्यक्रममा उनले आफ्नी आमालाई सम्झिए । त्यसो त चुनावी अभियानकै क्रममा सन् २०२० मा आमा गुमाएका उनले प्राइमरी चुनाव र गत नोभेम्बरको मेयरको चुनावमा मतदान गर्दा आमाको तस्वीर बोकेका थिए भने नयाँ बर्षको दिन सपथग्रहण गर्दा पनि एउटा हातमा बाइबल र अर्को हातमा आमाको तस्वीर बोकेका थिए । आफ्नी आमाप्रति उनले विशेष सम्मान प्रकट गर्दै आएका छन् ।

मेयर एरिक आडम् आइतबार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको सत्य नारायण मन्दिरमा न्युयोर्क सिटी काउन्सिलको प्राइमरीका डेमोक्रेटिक उम्मेदबार समेत रहेका नवराज केसीकी आमाको १३ दिनको पुण्यतीथिमा श्रद्धाञ्जली दिन र शोकाकुल परिवारलाई समवेदना दिन उपस्थित भएकानथिए । श्रद्धाञ्जली मन्तव्यका क्रममा उनले आफ्नी आमालाई सम्झिए । आडम्सले आफू चुनावी अभियानका क्रममा रहेको बेला आमाले अन्तिम स्वास लिइरहेको खबर आएपछि आमालाई भेट्न जाँदाको पीडायुक्त क्षणको स्मरण गरे ।


आफ्नी आमासँग बिताएका क्षणहरु स्मरण गर्दै उनले भने – ‘उहाँका ६ जना बच्चाहरु रहेका थिए । तर उनले सबैभन्दा बढी मलाई माया गर्नुहुन्थ्यो । म उहाँको सबैभन्दा मनपर्ने सन्तान थिएँ ।’

केसीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर आडम्सले भने – ‘जीवन स्थायी छैन । तर तपाई आफ्नो आमाको कोखमा जन्म लिन पाएकोमा धन्य हुनुहुन्छ । यो नै जीवनको सर्कल हो । त्यसैले हामीले उनीहरुले जीवनमा भोगेका खुशीको स्मरण गर्दै व्यक्तिको महाप्रस्थानको उत्सव मनाउनुपर्छ ।’

‘मैले भेटेको पहिलो दिनमा नै नवराजमा एकदमै धेरै माया, सहयोग र कामप्रति समर्पण पाएको थिएँ । अरु कोही नभएको अवस्थामा तपाई मसँग हुनुभएको कुरा मैले कहिलेपनि बिर्सन्न । तपाईको सहयोग र मित्रता मेरा लागि निकै महत्वपूर्ण छ । आज म यो सिटीमा जहाँ काम गरिरहेको भएतापनि म मेरा भाई नवराजका लागि आउन चाहें’ उनले भने ।

उनले नवराज जस्तो अशल व्यक्तिलाई जन्मदिएकोमा आमाप्रति खुशी ब्यक्त गरे । एरिक आडम्स न्युयोर्कमा रहेका नेपालीमाझ समेत लोकप्रिय छन् । मेयरको चुनाबमा उनलाई उनलाई नेपाली समुदायका तर्फबाट इन्डोर्स समेत गरेको थियो ।


आडम्सले कोरोना महामारीमा न्युयोर्कको नेपाली समुदायलाई उल्लेख्य सहयोग गरे । साथै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर योगदान दिने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरे । नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुदै आएका आडम्स न्युयोर्कको नेपाली समुदायको पहिलो छनौट रहेका थिए ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ८ : ०७ बजे