२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

सत्ता गठबन्धनको बैठक अनिर्णित, आइतबार पुनः बस्ने



काठमाडौँ । अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलहरु फेरी असफल भएका छन् । निर्णायक भनिएको शुक्रबारको बैठकमा सहमति नजुटेपछि पुन: आइतबार बस्ने भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षमा नुपुगेपछि आइतबार बिहान १० बजे बस्ने गरी समाप्त गरिएको हो ।

नेपकपा एसका नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारकै संसद बैठकमा एमसीसी टेबल गर्ने अडान राखेपछि कुनै सहमति बन्न नसकेको बताए ।

बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता संसद्मा टेबल गर्नेबारेमा सकारात्मक रुपमा छलफल भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । “सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले पर्सि हुने बैठकले साझा अवधारणा बनाउने गरी आजको बैठक समाप्त भएको छ”, उनले भने ।

नेकपा एसले आफ्नो दलको स्थायी कमिटी बैठक शनिबार भएकोले त्यसपछि मात्र बैठक राख्न आग्रह गरेपछि बैठक आइतबार बस्ने भएको हो ।

बैठकमा प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षीको समेत रहेकाले हालको गतिरोध अन्त्यका लागि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको जानकारी गराइएको थियो । एमसीसी सम्झौता शुक्रबारको संसद् बैठकमा पनि टेबल नहुने भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित सत्ता साझेदारका शीर्ष नेताको सहभागिता रहेको थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १ : ०३ बजे