काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी काठमाडौंमा छन् । शुक्रबार आई पुगेका विदेशमन्त्री वाङसहितको उच्चस्तरीय भ्रमण टोली विमानस्थलबाट सोझै बत्तीसपुतलीस्थित होटेल द्वारिकाज पुगे । शुक्रबार उनको कुनै पनि औपचारिक कार्यक्रम छैन ।
भ्रमणको दोस्रो दिन शनिबार भने उनको दैनिकी बिहान ६:३० बजे शिवपुरी हाइकिङ गरेर सुरु हुनेछ ।
त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाटको कार्यक्रम रहेको छ । त्यही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । त्यसपछि उनी सिंहदरबारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जानेछन् ।
विदेशमन्त्री वाङले भ्रमणकै दौरानमा काठमाडौंबाटै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा विमानस्थल चिनियाँ सरकारको ऋण तथा अनुदान सहयोगमा निर्माण सम्पन्न भएको हो ।
भ्रमणको तेस्रो दिन आइतबार बिहान ९:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको स्रोतले बतायो । ओली र दाहालसँगको भेट नक्सालस्थित होटेल मेरियटमा तय भएको छ । त्यसपछि होटेल द्वारिकाज जाने र त्यहीँबाट उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
दक्षिण एसियाली मुलुकहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण सकेर वाङ नेपाल आउन लागेका हुन् ।