श्रीलंकाद्वारा विदेशी ऋणको सावा र व्याज तत्काल नतिर्ने घोषणा

२०७८ चैत्र २९, मंगलवार १६:४५

गम्भिर आर्थिक संकटमा परेको श्रीलंकाको अर्थ मन्त्रालयले केही अवधिका लागि विदेशी ऋणको सावा र व्याज नतिर्ने घोषणा गरेको छ । मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

श्रीलंकासँग अहिले विदेशी ऋणको सावा र व्याज समेत तिर्न सक्ने बिदेशी मुद्राको सञ्चिती छैन । विदेर्शी मुद्राको अभावमा खाद्यन्न र औषधीसमेतको अभाव रहेको छ । सरकारले उपभोक्तालाई नियमित सेवा प्रवाह समेत गर्न नसक्दा राजधानी कोलम्बो सहितका सडकमा हजारौंको संख्यामा आम नागरिकहरू प्रदर्शनमा उत्रिएका छन् ।

२ करोड भन्दा धेरै जनसंख्या भएको श्रीलंकामा यतिबेला दैनिक उपभोग्य वस्तु पनि प्रवाह हुन सकिरहेको छैन । नागरिकहरू भने दैनिक रुपमा सडकमा उत्रिएर सरकारको विरोध गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएएमएफ) ले अनुदान घोषणा गर्नुअघि नै श्रीलंकाले यसरी ऋण नतिर्ने जनाएको हो । यसैबीच श्रीलंकाले चीनसँग पनि थप ऋण सहायता माग गरेको छ । अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको बताइएको छ ।

श्रीलंकाले हाल ठूलो मात्रामा आयात रोक्नुका साथै विदेशी मुद्रा सिञ्चिती जोगाउने उपाय खोजिरहेको जनाएको छ । अर्थशास्त्रीहरूले भने सरकारको व्यवस्थापकीय क्षमता कमजोर हुँदा यस्तो अवस्था उत्पन्न भएको टिप्पणी गरेका छन् ।

सम्बन्धित समाचार