अग्नि साम्पाङ
विविध कारणले यो स्तम्भकार स्वदेशमा छैन । तर बिहान ब्यूँझिने बित्तिक्कै पहिले आँखा नेपाली न्यूजपोर्टलमै ठोकाउँछ । त्यहींबाट शुरू हुन्छ मुग्लिसे दैनिकी । अनि सामाजिक संजालको राम्रै प्रयोगकर्ता पनि भएकोले नेपाली समाज र राजनीतिलाई आफ्नै तरिकाले बुझेको सम्झन्छ ।
नेपालमा चुनावी माहौलको रणचण्डी जारी छ । यो चुनाव हरेक दलहरूले समाजलाई आफ्नो न्यूनतम् भागबण्डा गर्ने दाउपेचको समय हो । स्वतन्त्र उम्मेरद्वारीले बाहेक स्थानीय चुनाव लोकतान्त्रिक व्यवस्था जस्तै लाग्दैन । मानौं नेपालमा मनाईने चाडहरूको बडामहा चाड चुनाव हो । लोकतान्त्रिक देशमा सही कुरालाई गलत अभ्यास गरिएको हुँदा यो चुनावी छेकको उत्ताउँलोपनलाई रणचण्डी भन्दा अर्को नाम दिन सकिएन । स्वस्फुर्त जनताको उम्मेरद्वारीलाई समेत दलहरूले कबावमा हड्डी सम्झिनुले यो चुनावी महौल भागबण्डाबाहेक अरू केही होईन स्पष्ट पार्छ । जसलाई जहाँ पायक पर्छ त्यहि गठबन्धन गर्नुले यो लोकतान्त्रिक व्यवस्थाको उपहास भएको छ । भागबण्डाको राजनैतिक सँस्कार मौलाएको छ । प्रतिगामीसँगको लडाई भन्ने सबैदलहरू कुनै न कुनै ठाउँमा गठबन्धन गरेका छन् । जस्तै सबैभन्दा चर्का प्रतिगमन विराधी पूर्व प्रधानमन्त्रीहरूकै स्थानीय तहमा गठबन्धन गरेको छ । योभन्दा मजाक के हुन्छ ? बड्किलो मजाक समाजकोलागी कति हानीकारक हुन्छ संभवत हामीले भोग्दै आईरहेकै हौं ।
यो मजाकले लाखौं ‘म’हरू विदेशिनुले मतदानबाट छुटिएका छौं । हजारौं स्वतन्त्र र निर्धा जनता स्वदेशमै रहेर पनि पार्टीको लाहछाप नहुनुले छुटेका छन् । दलहरूको पहुँच र नश्लमा भरपर्छ मताधिकार । गैरावशीय नेपाली संस्थाहरू र विदेशमा रहेका नेपालीहरूले पटक-पटक अनुरोध गरेका मताधिकारलाई दलहरूले वेवास्था गर्नु पार्टीहरूको डरको एउटा उदाहरण हो । किनभने दुरीमा रहेका मनदाता नेता र पार्टीहरूको कब्जा बाहिर रहन्छन् । त्यो कार्य बारम्बार झुटको खेति गर्ने नेता र पार्टीहरूको लागी घुँडामा बन्चरोले हान्नु हो । स्वदेशमै बसेर जनताको दर्जा नपाएकी सिराहाकी खटरी सदाहरूलाई हेर्नुस् । मुसहर र डोम बस्तीमा न आफ्नै जातको नेता छन् न ठुला जात भनिएका नेताले जनताको दर्जा दिन्छन् ।
लोकतन्त्र कस्को लागी स्थापित भो ? यसलाई केलाउँदै जाने भए कथित जातले ठुला भनिएका र पैसावालाका लागि मात्र हो । गाउँभरी यस्ता निर्धा र दलित मानिएका मानिसहरू छ्याप्छ्याप्ती छन्, जो नेता र पार्टीले जनताको दर्जा दिंदैनन् । मानव शास्त्र भन्छ, जब एउटै कुरा बारम्बार गरिन्छ अनि बन्छ सँस्कार । नेपाली समाजको लागी यो प्रर्दुषित सँस्कारले लोकतन्त्रमाथी नै दुराचार गरिरहेको छ । त्यही पार्टीले सोही आश्वसन सहित उहि कुमौटे अनुहार लिएर त्यही गाउँ आउँदा पनि स्वागत गर्ने र उसैलाई मत दिनु जनताको पनि महाभूल हो । या त दासत्व कायम राख्नु हो ।
यस सवालमा धेरैले भन्छन् ‘चोईस् छैन ।’ स्वतन्त्र उम्मेरद्वारहरू यसको विकल्प हुन् । तर कति मतदाताहरू स्वतन्त्र उम्मेरद्वारको जरा र टुप्पा नभएकोले दिन नसक्ने तर्क गर्दै पुरानैलाई मत दिन्छन् । त्यही टेस्टेड पार्टी र नेतालाई मत दिनु कति मतदाताहरू वंशानुगत धर्म ठान्छन् । यो दीर्घरोग हो । यो सरूवा रोग हो । फेरी एकथरी छन्, ईमान्दार व्यक्ति । जो कुनै न कुनै पार्टीको सुर्कने समातेर बस्नै पर्ने । त्यो व्यक्ति पार्टीको इमान्दार कार्यकर्ता र समाजको असल नेतृत्व पनि । त्यस्ता व्यक्तिहरूको लागी मार्का नपर्ने गरी स्वच्छ छवीका स्थानीय नेताहरूलाई छान्दा पनि समाजमा परिवर्तनका आभास हुन्छ । तर उनको पार्टी र जमात टेस्टेड नै हुन् । तर स्थानीय सरकार ईमान्दारितामा भर पर्छ ।
अचम्म त त्यतिबेला लाग्छ जतिबेला हरेक पार्टी र नेताको र्यालीमा उत्तिक्कै भेला हुन्छ । स्तम्भकार गम्छ, नेपालमा सबैलाई फुर्सद । फेरी गम्छ, कहि कतिङ्गल योपाली स्वतन्त्र उम्मेरद्वारहरुले जिते भने काम गर्न दिन्छन् कि नाई ? तर सहि विकल्प उनै स्वतन्त्र उम्मेरद्वारहरू नै हुन् । अर्कोतिर, देखिएका यी स्वतन्त्र उम्मेरद्वारहरू कहिकतै कसैको मतियार नहोउन् । भरखरै बामे सर्दैगरेको लोकतान्त्रिक गणतन्त्र हुर्कन स्थानीय तहदेखी स्वतन्त्रगरी जितेका नेतृत्वहरूको ठुलो भूमिका रहन्छ । नेपाली समाजमा स्थापित भनिएका पार्टी र नेताहरूले अक्रान्त भएको छ । अन्तमा, मुद्दा, भिजन, उमेर, शैक्षिक योग्यता र स्वतन्त्रताको हिसाबले पनि पार्टीरहित उम्मेरद्वारहरू स्थानीय तहमा पर्फेक्ट छन् । काठमाण्डौं, पोखरा, विरगंज र धरानका स्वतन्त्र उम्मेरद्वारहरू आशाका किरणहरू हुन्, जो विकल्पमात्र होईन संकल्प नै हुन् । यी उम्मेरद्वारहरूसँग भने यो मुग्लिसे स्तम्भकार कन्भिन्स्ड छ ।