६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

न्यूयोर्कमा मनाइयो अन्तरार्ष्ट्रिय सगरमाथा दिवस



अन्तरार्ष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर यूएस नेपाल कलाइम्बर्स एसोसिएसन इन्क यूएसएले युनाइटेड शेर्पा एसोसिएसन अमेरिकासँगको सहकार्यमा कार्यक्रम गरेको छ ।

मे २९ तारिखका दिन शेर्पा किदुक अमेरिकाको भवन ज्याक्सन हाइट न्यूयोर्कमा अन्तरराष्ट्रिय सगरमाथा दिवस अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । सन् १९५३ मे २९ तारिखका दिन सर्बोच्च शिखर सगराथामा पहिलो मानव पाइला टेक्न सफल स्व. सर एड्मन्ड हिलारी र स्व. तेन्जिङ नोर्गे शेर्पाको सम्मान र सम्झनामा अन्तरराष्ट्रिय सगरमाथा दिवश मनायएको हो ।

यसअघि मे २४ तारिक २०२२ का दिन न्यूयोर्क राज्य विधान सभा सदस्य सम्माननीय जेनिफर राजकुमार र न्यूयोर्क राज्य गर्भनर सम्माननीय क्याथी होचुल तथा न्यूयोर्क राज्य बिधानसभा कलर्क सम्माननीय मेरी अन्ने ई डेन्ड्लेसले न्यूयोर्क राज्यको एसेम्बली हल अलबानीबाट प्रत्येक वर्ष मे २९ लाई अन्तरार्ष्ट्रिय सगरमाथा दिवस घोषणा गरेका थिए ।

विहान शेर्पा किदुक गुम्बामा हिमाल आरोहणको क्रममा ज्यान गुमाउने आरोहीहरुको चीर शान्ती तथा सम्झनामा लामा धर्मगुरुहरुद्वारा बिशेष पुजा पाठ तथा दीप प्रज्वलन गरी कार्यक्रम गरिएको थियो । औपाचरिक रुपमा भने कार्यक्रम दिउँसो तीन बजेबाट शुरु भएको थियो । नेपाली राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गान सँगै हिमाल आरोहणको क्रममा दिवांगत भएका सम्पूर्ण साहसी पर्वतारोहीहरुको सम्मानमा एक मिनेट मौनधारण गरी कार्यक्रम शुरु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा संयुक्त राष्ट्रसंघका लागी नेपाली स्थायी प्रतिनिधि महामहिम श्री अमृतबहादुर राई र बिशिष्ट अतिथिको रुपमा नेपाली महावाणिज्य दूत न्यूयोर्कका महाबानिज्यदूत विष्णुप्रसाद गौतम, धर्म गुरु उर्गेन टुल्कु खाम्बाचे शेर्पालगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु तथा अमेरिकामा रहेका हिमाल आरोहीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि महामहिम अमृत बहादुर राईले सगरमाथा हिमाललगायत बिश्वका अन्य हिम श्रृंखलाहरुको उत्पत्ति बारे र प्रथम सगरमाथा आरोही सर एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पालाई सन १९५३ मे २९ मा सफल सगरमाथा हिमाल आरोहण गरेपछि नेपाल सरकारले काठमाडौंमा र बेलायत सरकारले लण्डनमा गरेको भब्य स्वागत र सम्मानको चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाली महावाणिज्य दूताबास न्यूयोर्कका कार्यबाहक महाबानिज्यदूत विष्णुप्रसाद गौतमले न्यूयोर्क राज्य बिधानसभाले प्रत्येक मे २९ तारिकलाई अन्तरराष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउने घोषणाले अमेरिकामा रहेका सम्पूर्ण हिमाल आरोही तथा नेपाली समुदायमा बिशेष उपलब्धी भएको र यस ऐतिहासिक घोषणाले नेपालको पर्यटन बिकासमा थप सहयोग पुग्ने चर्चा गर्दै यसको लागि बिशेष पहल गर्ने न्यूयोर्क राज्य कुइन्स ३८ डिस्ट्रिक्टका बिधानसभा सदस्य जेनिफर राजकुमारलाई बिशेष धन्यवाद ब्यक्त गरे ।

महाबानिज्यदूत गौतमले परदेशमा रहेपनि आफ्नो मातृभूमी नेपालको आर्थिक बिकासको लागि सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह पनि गरे । कार्यक्रममा शेर्पा किदुक अमेरिकाका अध्यक्ष श्रीमती छिरिङ शेर्पा, गैर आवासीय नेपाली संघ न्यूयोर्क च्यापटरका अध्यक्ष श्री आङ छिरिङ शेर्पा, फिप्ना अमेरिकाका अध्यक्ष राजकुमार बिष्ट, शेर्पा संघ अमेरिकाका अध्यक्ष आङ जाङबु शेर्पा, गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे, शेर्पा किदुक अमेरिकाका भुतपुर्ब अध्यक्ष तथा न्यूयोर्क सिटि कुइन्स कम्युनिटी बोर्ड मेम्बर उर्गेन शेर्पा, तमाङ सोसाइटी अमेरिकाका अध्यक्ष छेमाङ तामाङ, अधिकारका अध्यक्ष नर्बदा छेत्री, आईडिजिका अध्यक्ष सोनाम घिसिङ, तामाङ समाज अमेरिकाका अध्यक्ष बिनिता लामा, हामी नेपाली ग्लोबलका अध्यक्ष ध्रुब कुमार छेत्री, लगायतले बिश्वको सर्बोच्च शिखर माउन्ट एभरेष्टको शिखरमा पहिलो मानव पाइला टेक्न सफल स्व. सर एड्मन्ड हिलारी र स्व. तेन्जिङ नोर्गे शेर्पाको सम्मान र सम्झनामा मनाइने अन्तरराष्ट्रिय सगरमाथा दिवशको बारेमा बिशेष चर्चा परिचर्चा गर्दै शुभकामना मन्तब्य गरेका थिए ।

सोही कार्यक्रममा सम्माननीय न्यूयोर्क राज्य बिधानसभाका सदस्य जेनिफर राजकुमारका कार्यालय प्रतिनिधि कार्लोसले न्यूयोर्क राज्यले यूयस नेपाल कलाइम्बर्स एसोसिएसनलाई प्रदान गरेको लेजिस्लेटिभ् रिजोलुसन प्रमाणपत्र बाजा, गाजासहित कार्यक्रम स्थलमा भित्र्याइ यूयस नेपाल कलाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङ् निमा शेर्पालाई हस्तान्तरण गरे ।

कार्यक्रममा यूयस नेपाल कलाइम्बर्स एसोसिएसनका भुतपुर्ब महासचिब आङ ग्याल्जेन शेर्पाले कार्यक्रम सुरु गरेर संस्थाका महासचिव पासाङ शेर्पालाई माइक हस्तान्तरन गरेपछि बर्तमान द्वितीयय उपाध्यक्ष पासाङ शेर्पाले अतिथिहरुलाई स्वागत गरेका थिए ।

करिव तीन दर्जन सगरमाथा आरोहीसहित १२० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा गत मे १३ मा सगरमाथाको सफल आरोहण गरेका सोलुखुम्बु जिल्ला ठमो गाउँकाका हाल न्यूयोर्क निवासी निमा डोमा शेर्पालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम स्थलमा पर्वतारोहीहरुले प्रयोग गर्ने विभिन्न पोशाकहरुको पनि प्रदर्शन गरिएको थियो । कार्यक्रम सकिए पछि साँझ अतिथीहरु तथा कलाइम्बर्सहरुले केहिबेर डिजे संगीत सँगै नाचगान पनि गरेका थिए ।

कार्यक्रमको अन्तिममा यूयस नेपाल कलाइम्बर्स एसोसिएसनका अध्यक्ष तथा कार्यक्रमका सभापति पासाङ निमा शेर्पाले अन्तरार्ष्ट्रिय सगरमाथा दिवसमा उपस्थित भएका प्रमुख, बिशेष अथितिहरु, पत्रकारहरु, आरोहीहरु बिभिन्न संघसंस्थाका प्रतिनिधिका साथै कार्यक्रमलाई सफल पार्न बिशेष रुपमा खट्ने सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ६ : २३ बजे