६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

केआरएसएको रक्तदान कार्यक्रम सम्पन्न, ९६ पाउण्ड रगत संकलन



न्यूयोर्क । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) रक्तदान कार्यक्रममा ९६ पाउण्ड रगत संकलन भएको छ ।

न्यूयोर्क सिटीको ‘क्रिटिकल निड फर अल ब्लड टाइप्स’लाई मध्यनजर गरी केआरएसएले १९ औं स्थापना दिवसको अवसरमा आयोजना रक्तदान कार्यक्रममा ९६ जना रक्तदाताले रक्तदान गरेको हो । रक्तदान कार्यक्रम क्विन्सको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो ।

कार्यक्रममा एक सय ३० भन्दा बढी मानिस उपस्थित भएका थिए । उनीहरुमध्ये ९६ जनाले रक्तदान गरेका थिए भने १३ जना रक्तदानका लागि अयोग्य भएका थिए । आयोजकले खासगरि उच्च रक्तचाप, रक्तदानका लागि फारम भर्दा भएको गल्ति र स्वास्थजन्य अन्य समस्याका कारण ती १३ जना व्यक्ति अयोग्य भएको जनाएको छ ।


रक्तदानमा स्वयंसेवकका रुपमा १९ वर्ष मुनिका राई विद्यार्थीहरु खटेको केआरएसएका केन्द्रिय सचिव सुमन नाछिरिङले बताए । ‘सोचेभन्दा धेरै रक्तदाताहरु सहभागी भइदिएर रक्तदान कार्यक्रम सफल बनाइदिनु भयो,’ उनले भने ।

रक्तदानमा सहभागीहरुले केआरएसएका केन्द्रिय अध्यक्ष खगेन्द्र राई र न्यूयोर्क च्याप्टर अध्यक्ष वाकासा वान्तावाले प्रमाणपत्र बितरण गरेका थिए । केआरएसएले आफ्नो स्थापना दिवसको अबसरमा हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदानका लागि न्यू योर्क ब्लड सेन्टरले सहकार्य गर्दै आएको छ । रक्तदान कार्यक्रममा एक दर्जनभन्दा बढी मानिस नेपाली समुदाय बाहिरका थिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ५९ बजे