- बी. के. नेवा
नेपालीहरु आफ्नो मुलुक बाहिर जहाँ गएर बसे पनि उनीहरुले आफ्नो कला, संस्कृति, भाषा, भेषभूषा सबै सँगै लिएर जान्छन् । नेपालीहरु जहाँ बस्छन् त्यहाँ आफ्नो कला संस्कृति, आफ्नो पहिचान साथै नेपाली एकता देखाउन चाहन्छन् । त्यसका लागि उनीहरुले एउटा संस्था, एउटा समूह, एउटा गुठी स्थापना गरी त्यसको माध्यमबाट आफ्नो कला संस्कृतिको पहिचान देखाउँछन् । उनीहरु आआफ्नो जातीय पहिचानका लागि चाडपर्व मनाउने गर्छन् ।

आज करिब करिब विश्वभरी नै नेपालीहरु छरिएर बसेको अवस्था छ । त्यहाँ तिनीहरुले आफ्नो कला संस्कृतिको पहिचानमार्फत हामी नेपाली हुँ भनी पहिचान दिइरहेका छन् ।
अमेरिकाको न्युयोर्क विश्वभरीको केन्द्रविन्दु सहर हो, जहाँ संसारभरिका मानिस बसोबास गर्छन् । यहाँ हरेका देशका मानिसले आफ्नो कला, संस्कृति, धर्म, भाषाबारे हरेक वर्ष कार्यक्रम आयोजना गरी पहिचान देखाउने गरेका छन् ।
सन् २००७ मा मेरो न्युयोर्क भ्रमणको समयमा मैले दुई चारवटा नेपाली संघसंस्थाका कार्यक्रममा भाग लिने मौका पाएको थिएँ । त्यतिबेला त्यहाँ धेरै संघसंस्था स्थापना भइसकेका थिए । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको पनि स्थापना भइसकेको थियो ।
त्यतिबेला विभिन्न कार्यक्रममा नेपाली कला र संस्कृतिका कार्यक्रम हेरेपछि मलाई नेवारहरुको कला संस्कृति कमी रहेको महसुस भयो । हामी नेवारहरु त्यसै पनि संसारभरी कला संस्कृतिका धनी छौँ । संसारले नेवार कला संस्कृतिबारे जानेकै हो । हामीले पनि यहाँ नेवारहरुको आफ्नो पहिचान किन नदेखाउने भन्ने सोच आयो । मैले यो कुरा मित्र न्हुच्छेनारायण डंगोलजीसँग राख्दा उहाँ निकै खुसी हुनुभयो । उहाँ स्वयं एउटा वरिष्ठ वाद्यवादक हुनुहुन्छ । लौ त त्यसो भए केही गरौँ भन्ने सल्लाह भयो । न्युयोर्कमा त्यतिवेला नेवारहरुको विस्तारै उपस्थिति बढ्दै गएको थियो ।
आफू त न्युयोर्कमा अपरिचित, न्हुच्छेजी पुरानो भइसक्नुभएको ,त्यसमाथि कलाकार को कहाँ बस्छ भन्ने धेरै कुरा उहाँलाई थाहा थियो । त्यतिबेला फेसबुक थिएन, सोसल मिडिया थिएन । त्यसैले हामी दुईजना ठाउँ ठाउँमा गएर नेवार दाजुभाइ दिदीबहिनीसित भेटघाट गरी हाम्रो उद्देश्यबारे कुराकानी गर्यौँ । त्यसपछि भेटघाटका लागि बोलाउने क्रम सुरु भयो ।
अमेरिकामा व्यस्तताको कारणले हो कि के हो सुरुमा हामीले सोचेजस्तो भेटघाट र सरसल्लाह हुन पाएन । कुनै बेला १५ जना आउँछन् त कुनै बेला ५ जना जुट्न पनि गाह्रो हुने । फेरि सम्झाउन जाने, फेरि अर्को मिटिङमा त्यस्तै ३ महिना प्रयास गर्दा पनि भनेजस्तो नभएपछि मित्र न्हुच्छेजीले मलाई भो यो हुँदैन, तपाईं नेपाल फर्कनुहोस् भन्नुभयो । तर मैले हार खाइन् । उहाँलाई पटक पटक सम्झाएँ । अन्ततः हाम्रो अथक प्रयासले सन् २००७ को फेब्रुअरी १५ का दिन न्युयोर्क नेवा गुठी स्थापना गरियो ।
सुरुमा ९ जनाको कार्यसमिति गठन गरी केही सल्लाहकारसमेत राख्यौँ । गुठीको अध्यक्षमा आदित्य महर्जन, उपाध्यक्षमा न्हुच्छेनारायण डंगोल, महासचिवमा धर्मेन्द्र गोपाली, कोषाध्यक्षमा समिर महर्जन, सदस्यहरुमा सांग्रीला नेवा, रीना महर्जन, राजेन्द्र श्रेष्ठ, कुमार खड्गी, विजेश मास्के तथा संस्थापकमा बीके नेवा, कानुनी सल्लाहकारमा देवेन्द्रकुमार प्रधान र सल्लाहकारमा धिरेन्द्र प्रधानलाई राखी स्थापना गरियो ।
नेवारहरुको मर्दा, पर्दा, कला, संस्कृति मनाउँदा गुठीको माध्यमबाट एक भएर गरिने चलन भएकाले हामीले न्युयोर्क नेवा गुठी नाम राखेका हौँ ।
हामीलाई गुठी स्थापना कालमा सरसल्लाह गर्ने मित्रहरुमा राम तामाङसित सुरुमा सरसल्लाह गरी दुई चारपटक उहाँको निवासमा गई सल्लाह लियौँ । उहाँले हामीलाई त्यतिबेला जनजाति महासंघका जल्दाबल्दा व्यक्तित्व केशवराम राईलाई भेट्न सल्लाह दिनुभयो । राईजीसित भेटमा हाम्रो कुरा राखेपछि उहाँ निकै खुसी भई लौ तपाईंहरुको कमी हामीले महसुस गरेका थियौँ लौ धेरै राम्रो भयो भनी उहाँले हामीलाई गुठी स्थापना गर्न निकै ठूलो सहयोग गर्नुभयो । गुठी स्थापना गर्नका लागि जनजाति महासंघको हल उपलब्ध गराइदिनुका साथै छ महिनासम्म मिटिङ आदि गर्नमा निःशुल्क हल उपलब्ध गराई नेवा गुठीले गर्ने हरेक कार्यक्रममा मन खोलेर सहयोग गर्नुभयो । नेवा गुठीले उहाँको सहयोग कहिल्यै बिर्सने छैन ।
नेवा गुठीले नेवारी कला संस्कृतिको न्युयोर्कमा प्रदर्शन, प्रवन्ध लगायत नेवार समुदायलाई पर्ने समस्याको समाधानको उद्देश्य बोकेर स्थापना भएको गुठीले प्रत्येक वर्ष नेपाल संवतको उपलक्ष्यमा कार्यक्रम गरी मनाउँदै आएको छ । आजसम्म आइपुग्दा गुठीले भिन्तुना कार्यक्रम, भिन्तुना र्याली, म्हःपूजा, इन्द्रजात्रा सामुहिक रुपमा ब्रतबन्ध र ईही लगायतका कार्यक्रम गर्दै आएको छ । गुठीले हालै रञ्जना लिपि र धिमय नृत्य पनि सिकाउने काम गरेको छ ।
१५ वर्षको गुठीको नेतृत्व हालसम्म आदित्य महर्जन, समिर महर्जन, धर्मेन्द्र गोपाली, निर्मल प्रधान र वर्तमान अध्यक्ष विजयमान सिंहले नेतृत्व सम्हाल्दै आउनुभएको छ । यही अगस्त ५, ६ र ७ मा न्युयोर्कमा चौथो विश्व नेवा सम्मेलन हुँदैछ । यो न्युयोर्क नेवा गुठीका लागि गौरबको विषय हो । विश्वभरीबाट पाल्नुभएका नेवा समुदायलाई म हार्दिक स्वागत गर्दछु ।
– लेखक नेवा गुठी, न्युयोर्कका संस्थापक हुन् ।