चुनावी तालमेल गरेर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय, सीट मिलाउन ११ सदस्यीय कार्यदल

२०७९ श्रावण २०, शुक्रबार १५:४२

पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाल सरकारले बिहीबारमात्रै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसेको थियो । बैठकले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरी बैठकका निर्णय सार्वजनिक गरेका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय समिति बनाएको छ । समितिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबाट ११ सदस्य राखिएको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले समितिमा रहने नेताहरुको नाम टुंगो लगाएको हो । जसमा कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा छन्। यस्तै नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन् ।

नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव सदस्य छन् । राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन्। उनीहरुलाई भदौभित्र सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन दिन भनिएको छ।

सम्बन्धित समाचार