६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

हतियारसहित एफबीआइको कार्यालय प्रवेशको प्रयास गर्ने मारिए



सिन्सिनाटीस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई) को कार्यालयमा प्रवेश गर्न खोज्ने एकजना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडपमा मृत्यु भएको छ ।

बिहीबार बिहान हतियार बोकेका एकजनाले एफबिआईको कार्यालयमा जबरजस्ती पस्ने प्रयास गरेको र उसले कार्यालय प्रवेश पूर्वको सुरक्षा प्रक्रिया उल्लङ्घन गरेपछि केहीबेर भनाभन भएको थियो । सुरक्षाअधिकारीहरूले सम्झाउने प्रयास गर्दा ती हतियारधारीले गोली चलाएपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको हो । घटनास्थलमा नै ती हतियारधारी सन्दिग्धको ज्यान गएको ओहायोको प्रहरीले जनाएको छ ।

कानुन कार्यान्वयन इकाइका अधिकारीहरूले ती सन्दिग्धलाई छलफल तथा कम घातक रणनीति अख्तियार गरेर नियन्त्रणमा लिने प्रयास गरेको तर निज त्यहाँबाट भागेको र पुनः पक्राउको प्रयास गर्दा गोली प्रहार गरेकाले सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा निजको मृत्यु भएको प्रहरीको भनाइ छ ।

एफबिआईको कार्यालयमा हतियारसहित प्रवेश गर्ने निजको प्रयास, त्यसको मनसाय के थियो भन्ने स्पष्ट भएको छैन । अधिकारीहरूले त्यसको अनुसन्धान गरिरहेका छन् । यो घटना पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडा पामबिचस्थित निवासमा एफबिआईले छापा मारेको केही दिनपछि भएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : ०२ बजे