१८ कार्तिक २०८१, आइतबार | Sun Nov 3 2024

आयोगले दाहाललाई सोध्यो : चुनावमा १० करोड कसले खर्चियो



काठमाडौँ । निर्वाचन आयोगले माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग चुनावमा करोडौं खर्च हुने भनेर दिएको अभिव्यक्तिबारे सूचना मागेको छ । पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले आयोगले तोकेको हदभन्दा बढी खर्च हुने गरेको अभिव्यक्ति दिएको भन्दै सूचना उपलब्ध गराउन पत्र पठाएको हो ।

निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीको नामबाट साउन १० माओवादी पार्टी कार्यालयलाई पत्र पठाइएको थियो । कार्यालयले पत्र बुझ्न नमानेपछि साउन ११ गते हुलाकमार्फत पुन: पत्र पठाइएको आयोगले जनाएको छ ।

आयोगको पत्रमा भनिएको छ, ‘देशको पूर्वप्रधानमन्त्री, सत्तारुढ दलका अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा जिम्मेवार दलको नेताले दिएको अभिव्यक्तिलाई आयोगले गम्भीरताका साथ लिई प्रमाणका रूपमा प्रयोग गर्न सक्ने हुन्छ ।’ आयोगले तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा खर्चविवरण नबुझाउने उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरु गरिएको पनि उक्त पत्रमा उल्लेख गरेको छ ।

अध्यक्ष दाहालले गत साउन ९ गते नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ९औं स्मृति दिवस कार्यक्रममा ‘एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गरेर जितेको’ देखिएको बताएका थिए । धेरै पैसा खर्च गर्न नसके र अनेक तडकभडक गर्न नजाने चुनाव जित्नै गाह्रो हुने अवस्था रहेको उनको भनाइ थियो । स्थानीय तहको गत चुनावमा गाउँपालिका अध्यक्षका उम्मेदवारले बढीमा ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा आयोगले तोकेको थियो ।

यसअघि गत चैतमा कांग्रेस नेता शशांक कोइरालासँग पनि आयोगले चुनावी खर्चबारे स्पष्टीकरण सोधेको थियो । कोइरालाले ‘चुनाव लड्छु भन्नेबित्तिकै ६/७ करोड चाहिने अवस्था’ आएको बताएका थिए ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि २५ लाख रूपैयाँसम्म खर्च सीमा तोके पनि कोइरालाले निर्वाचन महँगो हुँदै गएको र गत निर्वाचनमा आफ्नो ६ करोड खर्च भएको बताएका थिए । निर्वाचन आयोगसमक्ष भने उनले २१ लाख ७५ हजार खर्च भएको विवरण पेस गरेका थिए ।

 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : १४ बजे