नेपाली कांग्रेसका संस्थापनइतर नेताहरूले शनिबार भेला बोलाएका छन् । सभापति शेरबहादुर देउवा पक्षले समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्दा ‘एकलौटी’ गरेको आरोप लगाउँदै त्यसको विरोधमा शेखर कोइरालानिकट नेताहरू भेलामा जुट्न लागेका हुन्।
शनिबार दिउँसो १ बजे काठमाडौंमा भेला बोलाइएको जानकारी नेताहरुले दिएका छन् । कोइरालानिकट पूर्वजिल्ला सभापति, केही जिल्ला सभापति, केन्द्रीय सदस्य र केन्द्रीय सदस्य उम्मेदवारहरूले शुक्रबार स्वयम्भूमा बैठक गरेका थिए।
उक्त बैठकले शनिबार भेला गर्ने र सभापति देउवापक्षको एकलौटीपनको विरोध गर्ने निर्णय गरेको थियो । समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्दा एकपक्षीय ढंगबाट गरिएकोले ती नाम संशोधन गर्नुपर्ने माग उनीहरुको छ । पार्टीभित्र सभापति पक्षले अर्को पक्षलाई समाप्त गर्ने गतिविधि गर्न हुन्न भनेर हामी खबरदारी गर्ने बताइएको छ ।
उक्त भेलामा शेखर कोइरालालगायत पदाधिकारीलाई बोलाइएको छैन । टिकट वितरण न्यायोचित ढंगबाट हुनुपर्छ भन्ने रहेको उल्लेख गर्दै समान अवसर र न्यायका लागि हामी खबरदारी गरिने नेताहरुले बताएका छन् ।