१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

न्यूयोर्कमा भलिबल प्रतियोगिता, म्याग्दी समाज विजेता



न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इंन्क, युएसएले पहिलो पटक ३५ वर्ष माथिको उमेर समूहलाई लक्षित गरेर गुरुङ युनाइटेड कप भलिबल टुर्नामेन्ट आयोजना गरेको छ ।

न्यूयोर्कको क्वीन्स्ब्रिज पार्कमा सेप्टेम्बर २४ तारिखमा भएको खेलमा गुरुङ युनाइटेड कपको उपाधी म्याग्दी समाज अमेरिकाले हात पारेको छ ।

पहिलो विजेताले १५ सय डलर नगदसहित गुरुङ युनाइटेड कप प्राप्त गरेको छ भने आयोजक संस्था द गुरुङ तमु सोसाइटीको टिम गुरुङ युनाइटेडले उपविजेताको स्थान हासिल गरेको छ । उपविजेता गुरुङ युनाइटेडले कप सहित १ हजार डलर नगद प्राप्त गरेको छ ।

टुर्नामेन्टमा आयोजकसहित ८ वटा टिम सहभागी थिए । आयोजकसहित रिजउड नेपाल समाज, शेर्पा किदुग युएसए, म्याग्दी समाज अमेरिका, मगर संघ अमेरिका, किरात राई सोसायटी अफ अमेरिका, एनवाइसी क्लब तथा रेड पाण्डा गरी ८ समुहले प्रतिष्पर्धामा भाग लिएका थिए । आठ समूहबीच विभिन्न चरणमा भएको प्रतियोगिताको फाइनल खेल उपविजेता गुरुङ युनाइटेड र उपाधी विजेता म्याग्दी समाज अमेरिकाबीच प्रतिष्पर्धा भएको थियो । त्यस्तै, खेलमा सोम बुढाथोकी सर्वश्रेष्ठ खेलाडी, श्री गुरुङ सर्वश्रेष्ठ स्पाइकर, गोबिन्द रोका क्षेत्री सर्वश्रेष्ठ डिफेन्डर र हरि प्रसाद राणा सर्वश्रेण्ठ रेजर भएका छन् । समाजले गएको वर्ष पनि हर्क गुरुङ भलिबल कप आयोजना गरेको थियो ।

द गुरुङ तमु सोसाइटीका अध्यक्ष तोरण गुरुङले स्वास्थ्य नै जीवन हो र स्वस्थ जीवनका लागि खेल महत्वपूर्ण भएकोले खेलको माध्यमबाट युवाहरुलाई स्वस्थ रहनुपर्छ तर त्यसको लागि नियमित रुपमा अभ्यास गर्नु आवश्यक छ भन्ने सन्देश दिनका लागि गुरुङ युनाइटेड कपको आयोजना गरेको बताए । त्यस्तै गुरुङ युनाइटेड कपका संयोजक तथा द गुरुङ तमु सोसाइटीका खेल व्यवस्थापक अञ्जित गुरुङले यस्ता प्रतियोगिताका माध्यमबाट विभिन्न समुदायका युवाहरुबीच आपसी सद्भाव र भाइचारा कायम गर्ने कार्य गरिएको बताए । सोसाइटीका सचिव अलिशा गुरुङले कार्यक्रम सफल बनाउनका लागि सल्लाहकार, आजीवन सदस्यहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, समाजका सदस्यहरुलगायत विभिन्न व्यापारिक संस्थाले आर्थिक तथा भौतिक सहयोग गरेको जानकरी दिदैं सबैलाई धन्यवाद दिए ।

यसैगरी गुरुङ (तमु )सोसाइटी चेलीबेटी आमा समुहका दिदी बहिनीहरूले खेलाडीहरुका लागि खानाको व्यवस्थापन गरेको उल्लेख गर्दै चेलीबेटी आमा समुहलाई सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा कलाकारहरु रूथमान गुरुङ र एन्सार्ज गुरुङले नृत्य प्रस्तुत गरेका थिए । आयोजकले कार्यक्रम संयोजक, खेलाडी तथा सहभागी टिमका सम्पूर्ण खेलाडीहरुलगायत सहभागी सबैलाई धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ५ : २२ बजे