१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

मनास्लुको हिमपहिरा परेर एकको मृत्यु, १० को सकुशल उद्धार



उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाडौंको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको उनले बताए । हिमपहिरामा परेका अन्य १० जनाको भने सकुशल उद्वार गरिएको प्रउ खनालले जानकारी दिए । सोमबार अबेरसम्म चार जनाको उद्धार गरिएको र थप छ जनाको मंगलबार बिहान उद्धार गरिएको उनले बताए ।

मंगलबार बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्वार टोलीले हिमपहिरामा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्वार गरेर सामागाउँ ल्याइएको प्रउ खनालले जानकारी दिए । “सामागाउँसम्म ल्याइएका सबै घाइतेलाई उपचारका लागि बिहानै काठमाडौँ पठाइएको छ”, उनले भने, “उनीहरुको राजधानीस्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ ।”

पहिरामा परी उद्धार गरिएका दुई जनाको अवस्था भने सामान्य भएकाले उनीहरु आधार शिविरमा नै बसेर काम गरिरहेको उनले बताए । हिमपहिरामा परेकाहको उद्वारका लागि मंगलबार बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ५ : ३० बजे