१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

नायग्र फल्समा नेपाल महोत्सव आयोजना गरिने



हामी नेपाली ग्लोबलले पहिलो पटक नेपाल महोत्सव आयोजना गर्दैछ । क्यानडा र अमेरिका बसोबास गर्ने नेपाली तथा विदेशी पर्यटकलाई लक्षित गर्दै अमेरिका र क्यानडाको बोर्डर नायग्रा फल्समा यही अक्टोबर १ र २ तारिख आयोजना गर्न लागेको हामी ग्लोबल नेपालीले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । नेपाललाई विदेशी भूमिमा चिनाउने उद्देश्यले नेपाल महोत्सव गर्न लागेको आयोजकले जनाएको छ ।

हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामाले नेपालको शिक्षा, कृषि र पर्यटनमा काम गरेर नेपालमा रहेका नेपालीहरुलाई सहयोग पुर्याउनका लागि संस्था स्थापना भएको प्रसंग कोट्याउँदै
नेपालको विभिन्न गाउँठाउँमा उत्पादित उपभोग्य वस्तुलाई महोत्सवको माध्यमबाट विश्व बजारिकरण गर्न सकिने बताए ।

महोत्सवमा विभिन्न समुदायले उत्पादन गरेका बस्तुलाई स्टलका रुपमा राख्न सकिने लामाले जानकारी दिए । महोत्सब मार्फत विदेशीलाई नेपालमा भित्र्याउन सकेमा महोत्सबको उपलब्धी रहने उल्लेख गर्दै अध्यक्ष लामाले सबै नेपालीलाई महोत्सवमा सहभागी हुन अनुरोध गरे । यस्ता महोत्सब भविष्यमा विभिन्न शहरहरुमा आयोजना गर्दै विदेशीलाई नेपाल भित्र्याउन प्रोत्साहन गरिने अध्यक्ष लामाको भनाइ छ ।

महोत्सवका संयोजक सामाजिक अभियन्ता केशवराम राईले नेपाल र नेपालीलाई चिनाउनका लागि नेपाल महोत्सवलाई सफल बनाउन सबै मिलेर सहयोग र सहकार्य गर्न सबै नेपालीलाई आग्रह गरे । यो महोत्सवलाई सबै नेपालीले अपनत्व गर्दै सहभागी हुन राइले अनुरोध गरे । द गुरुङ तमु सोसाइटीका अध्यक्ष तोरण गुरुङले सबै नेपालीहरुलाई एउटै मालामा उन्न र जोड्न सकिने नाम हामी नेपाली ग्लोबल नाम नै अर्थपूर्ण रहेको उल्लेख गर्दै नेपाल महोत्सवले सबै नेपालमा उत्पादित बस्तुलाई विश्व बजारमा पुर्याउन सहयोग पुग्ने बताए ।

नेपाल अमेरिका पत्रकार संघ नेजाका कार्यवाहक अध्यक्ष मच्छे गुरुङले महोत्सवमा के के गर्न सकिने, के के कार्यक्रम आयोजना गर्ने भन्ने बारेमा समयमा नै सूचना दिएमा धेरै भन्दा धेरै नेपालीलाई समेट्न सकिने बताए । नेपाल र नेपालीलाई चिनाउनका लागि नेपालीले गरेको महोत्सवमा धेरै भन्दा धेरै नेपालीलाई जोड्न सकेमा महोत्सव सफल बनाउन सकिने बताउँदै सबै समुदायलाई हातेमालो गरेर सहयोग गर्न समेत अनुरोध गरिन् ।

त्यस्तै एनआरएनए न्यूयोर्क च्याप्टरका उपाध्यक्ष तथा महोत्सवका आर्थिक संयोजक शोभाकान्त पाण्डेले पर्यटनले नै देश विकास गर्न सकिने र देशलाई विश्वस्तरमा चिनाउन सकेमा पर्यटकलाई भित्र्याउन सकिने भएकोले पर्यटकीस्थल नायग्रा फल्सबाट महोत्सवको शुरु गर्न लागेको जानकारी दिए । पाण्डेले प्रतिव्यक्ति एक सय डलरमा जान आउन र होटलमा बस्ने व्यवस्था गरेको जानकारी दिए । त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ फिप्नाका सभामुख सुवर्ण शाक्यले नेपाली उत्पादन र विभिन्न नेपाली परिकारका स्टल राखिने जानकारी दिंदै महोत्सवमा सहभागी हुन सबैलाई आव्हान गरे ।

त्यस्तै युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष ममता राईले कार्यक्रमले पर्यटनको माध्यमबाट गाउँ र समुदायको विकास गर्न सकिने बताए । त्यस्तै महोत्सवमा नेपालमा विभिन्न जातजातिका भेषभुषालाई विदेशमा ल्याएर बिक्री वितरण गर्न सकेमा नेपाललाई आर्थिक रुपमा सवल बनाउन सकिने बताए । किरात याक्थुङ चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङले कार्यक्रम सञ्चालन गरेका थिए । महोत्सवले नेपाल र नेपाली उत्पादनलाई विश्व बजारमा बजारीकरण गर्दै नेपाली अर्थतन्त्रमा टेवा पुर्याउने आयोजकको अपेक्षा छ । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरु सहभागी थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ०६ बजे