३० असार २०८१, शनिबार | Sat Jul 13 2024

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन



वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।

पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत गराईरहेका थिए । शताब्दी पुरुषको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको उनको उपचारमा संलग्न डा सुरज बज्राचार्यले राससलाई जानकारी दिएका हुन् ।

अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । कलेजले जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । प्रधानमन्त्री देउवाले जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १० : १४ बजे