नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । उनले केही नीतिगत र कार्यक्रमगतरुपमा प्रतिबद्धतापत्रमा स्पष्टसँग उल्लेख गरिएको जानकारी दिएका छन् ।
अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको बताए ।
माओवादीले विसं २०४७ पछि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरेको उनले जानकारी दिए ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी) ले महँगो प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा घोषणापत्रमा उल्लेख गरेको छ ।
सो पार्टीले सार्वजनिक गरेको प्रतिनिधिसभा र प्रदेशसभा–२०७९ निर्वाचन घोषणापत्रमा मुलुकका लागि समय सुहाउँदो निर्वाचन प्रणाली अङ्गीकार गर्ने उल्लेख गरेको छ ।
समाजवादीको घोषणापत्रमा भनिएको छ, “अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिलसमेत छ । हामी यस निर्वाचन प्रणालीमा सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसैपटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्नेछ र हाम्रा उम्मेदवारले पनि कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्नेछन् ।”
राजतन्त्रलाई परास्त गरी स्थापना गरिएको समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, सामाजिक न्याय र धर्मनिरपेक्षतासहितको राजनीतिक प्रणाली समाजको आर्थिक–सामाजिक रूपान्तरणका आधारका रूपमा रहेको उल्लेख गर्दै समाजवादीले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि पहल गर्ने भएको छ ।
एकीकृत समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पनि जोड दिएको छ । उसले पुँजीगत खर्च नहुँनु, महँगीको अचाक्ली वृद्धि तथा कालोबजारीलगायतका विकृतिलाई अन्त्य गर्न पहल गर्ने जनाएको छ ।
अर्थतन्त्रका बारेमा सो पार्टीको घोषणापत्रमा भनिएको छ, “नेपालको पछौटेपन, आयात आधारित राजस्वको मूल स्रोत, डरलाग्दोरूपमा बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी, कृषिबाट सक्रिय जनशक्तिको पलायन, युवाको विदेश पलायन, ऋणको मात्रामा निरन्तर वृद्धि, बजेटको पुँजीगत खर्च नहुने समस्या, महँगीको अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका स्रोतसाधनमा दलाल पुँजीपतिको नियन्त्रण, मिटरब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृती, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन् ।”
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नसक्दा यस क्षेत्रमा देखिएका समस्याबाट मुक्त हुन नसकिने र परनिर्भरता कायमै रहने ठहर गर्दै एकीकृत समाजवादीले कृषि, उद्योग, ऊर्जालगायत क्षेत्रमा उत्पादन वृद्धि र पर्यटन, व्यवस्थापन एवं सूचना प्रविधिजस्ता सेवा क्षेत्रको विकास र विस्तार गर्ने विषयलाई घोषणापत्रमा महत्वका साथ समावेश गरिएको छ ।
“परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो”, घोषणपत्रमा भनिएको छ, “यो कार्यभार वहन गर्नका निम्ति हामी दृढतापूर्व अगाडि बढ्न चाहन्छौँ । यसमा हामीलाई जनताको साथ चाहिएको छ ।”
‘आर्थिक–सामाजिक रूपान्तरण ः समाजवादका आधार निर्माण’ भन्ने नारा अगाडि सारेको एकीकृत समाजवादीले आफ्नो लक्ष्य वैज्ञानिक समाजवाद भएको स्पष्ट पारेको छ । “वैज्ञानिक समाजवाद भनेको सबै जनताका निम्ति खाना, छाना र नाना तथा शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराइएको, उत्पादनका साधनमाथि समान हक भएको र सामाजिक न्याय एवं समानतासहितको समाज व्यवस्था हो”, घोषणापत्रमा भनिएको छ । नेपाली समाजमा आर्थिक–सामाजिक रूपान्तरणका लागि व्यापक अभियान सञ्चालन नगरी त्यो अवस्था निर्माण गर्न सकिँदैन । साथै आर्थिक–सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
समाजवादीले राष्ट्रबीचको समानता, पारस्परिक लाभ, अहस्तक्षेप र सम्मानलगायत पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनी मान्यताका आधारमा छिमेकीलगायत सबै देशसँग सुमधुर सम्बन्ध राख्ने र उनीहरुले पनि नेपालसँग तदनुरूपकै सम्बन्ध राखुन् भन्ने अपेक्षा गरेको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचन मुलुकको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक रुपान्तरणका लागि स्वर्णिम अवसरका रुपमा सदुपयोग गर्न मतदातालाई आह्वान गरेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्र जारी गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सधैँ प्रजातन्त्र र जनताको सर्वोच्चताप्रति प्रतिबद्ध रहिआएको बताए ।
राप्रपाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई आदर्श पुरुष मान्दै आएको छ । मुलुकको सर्वोपरि हितका पक्षमा उभिँदै बर्वादिको बाटोमा जानबाट जोगाउन आगामी निर्वाचनमा विवेकपूर्ण निर्णय लिन मतदातालाई सुझाव दिँदै राप्रपाले अबको गन्तव्य सबल र समुन्नत नेपाल निर्माण भएको उल्लेख गरेको छ ।
पुँजी निर्माण, दीगो विकास, निःशुल्क स्वास्थ्य र शिक्षा तथा सामाजिक न्याय र समतामूलक समृद्धिमा जोड दिँदै उक्त पार्टीले विसं २०८७ सम्ममा नेपाललाई मध्यमआयस्तर भएको मुलुकमा रुपन्तरण गर्ने अठोट गरेको छ ।
अभिभावकीय संस्थाका रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, बलियो स्थानीय तह, धर्मसापेक्ष हिन्दू राष्ट्रका पक्षमा सो पार्टीले वकालत गर्दै आएको छ ।
‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौं’ भन्दै सुशासनका मुद्दालाई अघि बढाउने अठोट गरेको राप्रपाले सबैको मित्रता स्वीकार गर्ने तर हस्तक्षेप अस्वीकार्य हुने परराष्ट्र नीति अवलम्बन गर्ने जनाएको छ ।
पार्टीले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेमा राप्रपाले समष्टिगत अर्थतन्त्र: समातामूलक समृद्धि, शिक्षा, स्वास्थ्य र न्याय निःशुल्क, समान, सुरक्षित जनजीवन, विकसित र स्थायी बसोबास, विदेशिएका युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
कृषकलाई सम्मान, उत्पादकत्व वृद्धि, पुँजी निर्माण, दिगो सिँचाइ प्रणाली र दीगो विकासका मुद्दालाई पनि उक्त पार्टीले सशक्तरुपमा अघि बढाउने प्रतिज्ञा गरेको छ ।
घोषणापत्रमा ‘स्वच्छ पिउने पानी र सफा शौचालय–नागरिक अधिकार, ‘दिगो पूर्वाधार निर्माण र समृद्धिको आधार, जलविद्युत्को विकास, पुँजीको निर्माण र आत्मनिर्भरता, एक पालिका एक खेल मैदान’लगायत विषय समेटिएका छन् ।
राप्रपाले भावी सन्ततिका लागि पर्यावरण जोगाऔँ, नेपाल बन्द सधैँका लागि बन्द, आगामी दिनमा सीमा व्यवस्थापनका लागि पहल गर्ने तथा सत्ताकेन्द्रित राजनीति नगर्ने घोषणापत्रमा प्रतिबद्धता जारी गरेको छ ।