२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

गण्डकी प्रदेशका मन्त्री आचार्य बर्खास्त



गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बर्खास्त गरेका छन् । डा. बाबुराम भट्टराईको तत्कालिन नयाँ पार्टीको तर्फबाट प्रदेश सांसद बनेका आचार्यले गठबन्धनको उम्मेदबारलाई हराउन खोजेको भन्दै बर्खास्त गरिएको हो ।

मन्त्री आचार्यलाई हटाउन मुख्यमन्त्रीले गरेको बर्खास्तागी सिफारिस प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट स्वीकृत भइसकेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालका छन् ।

बिपक्षीलाई सघाएको भन्दै सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले तुरुन्त हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भनेका बताइएको छ । तर मुख्यमन्त्री आफ्नै गृह जिल्ला पूर्वी नवलपरासी रहेका र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमेत चितवनस्थित घर गएकाले बर्खास्तीमा ढिलाइ भएको थियो । प्रदेशप्रमुख गुरुङ र मुख्यमन्त्री पोखरेल मंगलबार दिउँसो पोखरा आएलगत्तै मन्त्री आचार्यलाई हटाइएको हो ।

आचार्य २०७८ जेठ २९ मा बिनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए । पछि असार ११ मा उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए । आचार्य गत निर्वाचनमा गोर्खाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए ।

मंसिर ४ गतेको निर्वाचनमा उनलाई टिकट नदिएर फणिन्द्र देवकोटालाई प्रदेशसभामा उम्मेदवार बनाइएको छ । देवकोटा माओवादीको चुनाव चिन्हबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका हुन् । आफूलाई पार्टीले फेरि उम्मेदवार नबनाएपछि आचार्य असन्तुष्ट रहेको बताइन्छ ।

पार्टीका आधिकारिक उम्मेदवार देवकोटाविरुद्ध मन्त्री आचार्यले बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका हुन् । यो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउन एमालेसँग साँठगाँठ गरेको भन्दै उनलाई हटाइएको हो ।

मन्त्री आचार्य मन्त्रीकै हैसियतमा एमालेको प्रचारमा बागलुङलगायतका जिल्लामा समेत सक्रिय रहेको पाइएपछि पार्टी उनकै पार्टीको निर्देशनमै हटाइएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ४ : ५० बजे