४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

पत्रकार नेपालको सबै सञ्चार माध्यमहरु बन्द गरिएकोमा महासंघको आपत्ति



बरिष्ठ पत्रकार किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको चासो ब्यक्त गरेको छ ।

महासंघका पूर्वसभापतिसमेत रहेका नेपालकाअनुसार डेढ महिनाअघिदेखि क्रमिक रूपले उनले चलाउने फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, इमेल र फोनसमेत बन्द गरिएको जानकारी प्राप्त भएको महासचिव रोसन पुरीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । यसबारे प्रहरीको साइबर व्यूरोलगायतमा लिखित जानकारी गराउँदा पनि समाधानमा तदारुकता नदेखाउनु अत्यन्त दुःखद् पक्ष रहेको महासंघले जनाएको छ ।

विगत पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान दिँदै आएका पत्रकार नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट बञ्चित गराउने अभिप्रायले भएको यो हर्कत अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको पनि महासंघको ठहर छ ।

महासंघ घटनाको छानबिन गरी अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्‍याउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग महासंघकले माग गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ३ : ३५ बजे