२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश (आदेशसहित)



काठमाडौं । सर्वोच्च अदालतले सिरियल किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो ।

शोभराजले आफ्ना कानुन व्यवसायीमार्फत पटकपटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिइरहेका थिए । त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटको सुविधा दिन माग गर्ने गरिएको थियो ।

न्यायाधीशद्वयले मानवीयता, जेष्ठ नागरिकको रुपमा पाउने सुविधा तथा मानव अधिकारको आधारभूत तथ्यहरुमा टेकेर उनलाई थुनामुक्त गर्न आदेश दिइएको हो ।

शोभराज ७० वर्षका भए भने १९ वर्षभन्दा लामो समय जेल बसिसकेका छन् । उनी मुटु रोगी रहेको छ । उनले छुटेपछि मुटुको उपचार नेपालमै गराउन चाहेको बताइएको छ । यद्यपी आदेशमा उनलाई स्वदेश फ्रान्स जाने ब्यवस्था गर्न पनि भनिएको छ ।

शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानेडियन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ११ : ०५ बजे