२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड



अमेरिकाको क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड भएको छ । बितेका आठ दिनमा यो तेस्रो गोलीकाण्ड हो । सान फ्रान्सिस्कोको दक्षिणस्थित तटीय समुदायको कृषि केन्द्रमा आज भएका दुई बेग्लाबेग्लै गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ । गत शनिबारको गोलीकाण्डमा ११ जनाले ज्यान गुमाएका थिए ।

सोमबारको आक्रमणमा संलग्न भएको अभियोगमा ६७ वर्षीय चुन्ली झाओलाई पक्राउ गरिएको छ । झाओले किन गोली चलाए भन्नेबारेमा स्पष्ट भइनसकेको जनाउँदै प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । आक्रमणमा कृषि केन्द्रमा काम गर्ने चिनियाँ र ल्याटिन अमेरिकीमूलक नागरिकले ज्यान गुमाएका छन् भने पाँच जना घाइतेको उद्धार गरिएको छ । बितेका तीन सातामा सामूहिक गोली प्रहारबाट ३९ जनाको मृत्यु भइसकेको छ ।

राष्ट्रसङ्घीयको चासो

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले गत शनिबार राति अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली मूलका मानिसहरु बसोबास गर्ने शहरमा भएको गोलीकाण्डमा परी भएको मृत्युले आफूले स्तब्ध भएको बताएका छन् ।

सो गोलीकाण्डमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने अरु १० जना घाइते भएका थिए । सो गोलीकाण्डमा परी घाइते भएका थप एकजनाको सोमबार निधन भएपछि सो काण्डमा परेर ज्यान जानेको संख्या ११ पुगेको समाचारमा जनाइएको छ ।

अमेरिका शहर क्यालिफोर्नियाको उक्त शहरमा स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।

शनिबार राति सो स्थानमा नाचगान भइरहेका बेला १० बजेर २० मिनेट जाँदा सो गोलीकाण्ड भएको थियो । तत्कालै सो स्थानमा प्रहरी अधिकारीहरू पुगेका र त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा छरिएर रहेका थिए ।

महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार महासचिव गुटरेसले सो दुर्घटनामा परेर ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ र उनीहरुका परिवारलाई समवेदना व्यक्त गरेका छन् ।

महासचिव गुटरेसले यस्ता घटना दाहोरिन नदिन सबै सचेत हुनुपर्ने भन्दै यस्ता हत्यामा संलग्नहरुलाई कानुनी कारबाहीका दायरामा ल्याउनुपर्ने पनि बताए । सो स्थानबाट शंकास्पद आक्रमणकारी घटनास्थलबाट भागेकोले भन्दै प्रहरीले उसलाई तुरुन्तै पछ्याएको थियो । लस एन्जलस शहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो सङ्ख्यामा एशियालीहरूको बसोबास रहेको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : २८ बजे