१ असार २०८३, सोमबार | Mon Jun 15 2026

उपराष्ट्रपतिको पतिको ओठमा राष्ट्रपतिकी पत्नीको चुम्बन!



अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका पतीको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएका छन् ।

आफ्ना पति ‘स्टेट अफ द युनियन’ सम्भाषणका निम्ति तयार मञ्चमा उक्लनै लाग्दा उनले डग एम्होफको हात समाएर आलिङ्गनका साथ ओठमै चुम्बन गरेपछि भाषण सुन्न बसेका उच्च नेतृत्वको ध्यान र नयन राष्ट्रपतिबाट मोडिएर उनकी पत्नीमा पुगेको थियो ।

सामान्यतया पश्चिमा मुलुकमा अभिवादन वा स्नेह प्रकट गर्दा आलिङ्गनका साथ ओठले स्पर्श नगरी निधार वा गालामा चुम्बन गरिन्छ तर आज ‘प्रथम महिलाले द्वितीय भद्रपुरूषलाई’ गरेको मैत्रीपूर्ण अभिवादन ‘भाइरल’ हुने प्रकृतिको थियो ।

ओठमा चुम्बन गरेको स्पष्ट देखिने जुम गरिएको तस्बिर सार्वजनिक गर्दै न्युयोर्क टाइम्सको सचित्र प्रकाशन ‘स्मुच अफ द युनियन’ मा भनिएको छ । फोटोमा जिल वा डग कसले गल्ती गरेका हुन् भन्न सकिन्न तर त्रुटी भएको देखिन्छ । बाइडेन प्रशासनको आलोचक फक्स न्युजले पनि उक्त तस्बिरको आलोचना गरेको छ भने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका भूतपूर्व सल्लाहकार केलीन कानवेले उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ठट्टा गरेका छन्, “वास्तवमै कोभिड सकिएछ ।”

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ५ : २९ बजे