१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त, एक महिनामै रावल पदमुक्त



सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार बिहीबार साँझ प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त नगरेपछि उनी एक महिनामै पदमुक्त भएका थिए । रावल पदमुक्त भएपछि कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित शाहलाई साँझ प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।

एक महिनामै सुदूरपश्चिमका मुख्यमन्त्री पदमुक्त

एमालेबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रस्ताव अस्वीकृत भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका छन् । पछि उनले राजीनामा दिए ।

प्रदेशसभाको बिहीबारको बैठकमा आफूमाथि विश्वासको मत प्राप्त होस् भनी मुख्यमन्त्रीले राखेको ख्नुभएको प्रस्तावलाई सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्नुहुँदा हुन्छ भन्ने सदस्य सङ्ख्याभन्दा हुन्न भन्ने सदस्य सङ्ख्याको बहुमत रहेकाले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत भएको घोषणा गरे ।

बैठकको प्रारम्भमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै रावलले प्रदेशको समृद्धिका लागि साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न जरुरी रहेको बताएका थिए । प्रस्ताव असफल भएपछि मुख्यमन्त्री रावलले आफूले संसदीय प्रक्रिया र मान्यतालाई सहर्ष स्वीकार गर्ने प्रतिक्रिया दिए । बैठकमा सत्तापक्षीय नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए ।

नेकपा (एमाले) संसदीय दलका नेता रावल संविधानको धारा १६८ को (२) अनुसार एमाले नेकपा (माओवादी केन्द्र), नाउपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सदस्यको बहुमत समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले आज विश्वासको मत लिइसक्नुपर्ने अन्तिम दिन थियो ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ११ : १४ बजे