१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

न्युयोर्कमा ह्योल्मो सोनम ल्होसार २१५० भव्यताका साथ मनाइयो



ह्योल्मो सोसाइटी अफ अमेरिकाले शनिबार न्यूयोर्कमा सोनाम ल्होसार भब्यताका साथ मनाएको छ । उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

उक्त अवसरमा मौलिक परम्परा तथा सांस्कृतिक नाचगान प्रस्तुत गरिएको थियो । ह्योल्मो आदिवासी समुदाय नेपालमा करिब ९२ गाउँमा बसोबास गर्दछन् ।

कार्यक्रम संस्थाका अध्यक्ष दुण्ढुक लामा ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रुपमा संयुक्त राज्य अमेरिकाका लागि कार्यवाहक महावाणिज्य दूतावास विष्णुप्रसाद गौतम र विशेष अतिथिमा जनजाति महासंघ (फिप्ना) का अध्यक्ष राजकुमार विष्ट उपस्थित थिए ।

कार्यक्रममा न्युयोर्कका लागि नेपालका पर्यटन सद्भावनादूत केशव राई, गुरुङ तमु समाजका अध्यक्ष तोरङ गुरुङ, थारु फ्रेण्डस् एसोसिएसन्सका उपाध्यक्ष दीपक चौधरी, उत्तर अमेरिकाको वालुङ समुदायका अध्यक्ष चुङ्दल उक्याप, जिरेल एसोसिएसन अमेरिकाकी अध्यक्ष शान्ति जिरेल, अमेरिकास्थित शेर्पा संघका अध्यक्ष पासाङ दोर्जे शेर्पा, ग्यालसुम्दो सेवा संस्थाकी अध्यक्ष निमा गाले, संयुक्त किरात राई संगठनका उपाध्यक्ष बसन्ती राईलगायत करिब ३०० जनाको सहभागिता थियो ।

कार्यक्रमका प्रमुख अतिथि गौतमले शुभकामना व्यक्त गर्ने क्रममा यो पर्व ह्योल्मो समाजको मात्र नभएर सम्पूर्ण नेपालीको पर्व भएको बताए । उनले ह्योल्मो समाज अतिनै मिलनसार एक अर्कामा दु:ख पर्दा खुल्ला दिलले सहयोगी भावना भएको समुदाय रहेको उल्लेख गर्दै ह्योल्मो बस्ती सिन्धुपाल्चोकको हेलम्बु प्राकृतिक सुन्दरताले भरिभाराउ ठाउँ रहेकाले बिदेशी पर्यटक हेलम्बु नपुगि फर्किदा भ्रमण अपुरो रहने कुरा व्यक्त गरे ।

विशेष अतिथि रहेका फिप्नाका अध्यक्ष राजकुमार विष्टले जनजातिले कुनै पनि जाति विशेषको विरुद्धमा नरहेको बरु राज्यले जनजाति माथि असमान व्यबहार गरेको र सबैलाई समान व्यवहार गर्नुपर्दछ मान्यता आफुहरुले राखेको बताए । संस्थाका अध्यक्ष दुण्ढुक लामा ह्योल्मोले स्वागत मन्तव्य दिएका थिए भने महासचिव त्सेवाङ टासी लामाले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालक घ्यामी ज्याबा ह्योल्मो थिए भने संस्थाप्रति विशेष भूमिकामा रहेर कार्य सम्पादन गर्ने तथा सहयोगी ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा उपस्थित हुने सम्पूर्णलाई स्वादिष्ट परिकारका खानाको पनि व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १२ : ५५ बजे