१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

शेर्पा किदुगको आयोजनामा न्युयोर्कमा मनाइयो भव्यताका साथ ग्याल्बो ल्होसार


Ang

१० फाल्गुन २०७९, बुधबार  

348
Shares

बौद्धमार्गी शेर्पा समुदायको महान चाड २१५० औ छयु मो हृयो ल्हो ल्होसारको पहिलो दिन न्युयोर्कस्थित शेर्पा किदुगको गुम्बा विहानदेखि नै झकिझकाउ थियो । गुम्बाभित्र धर्मगुरुहरु पुजापाठमा व्यस्त थिए भने न्युयोर्क आसपासमा रहेका शेर्पाहरु गुम्बा दर्शनका लागि लाइनमा थिए । शेर्पा पोशाकमा सझिएका उनीहरु गुम्बाको दर्शन गरि लामा गुरुबाट आर्शिवाद लिएपछि आपसमा टसिदेलेकको न्यायो अभिवादन आदानप्रदान गरिरहेका थिए । ल्होसारमा आफन्तहरुसँग भेटघाट गर्न नेपालबाट आएका मात्र होइन अमेरिकाकै पनि विभिन्न राज्यबाट न्युयोर्क आइपुगेका अतिथिहरु निकै खुशी देखिन्थे ।

गुम्बा दर्शनसँगै ल्होसार मनाउन आएका अतिथिहरुलाई शेर्पा किदुगका पदाधिकारीहरु मुलढोकामा उभिएर चिया, डयासिल र छिमारले स्वागतका लागि खटिरहेका थिए । ‘मलाई असाध्यै खुशी लाग्यो आफन्तहरुसँगै यसरी विहानदेखि नै ल्होसार मनाउन पाउदा’ तेम्बा शेर्पाले खुसी व्यक्त गरे । उनी मात्र होइन त्यहाँ उपस्थित अतिथिहरु गुम्बा दर्शनसँगै किदुंगको आतिथ्य सत्कार पाउदा निकै दंग थिए । ल्होसार शेर्पा समुदायको वर्षभरिको महान चाड हो । नेपालपछि विदेशमा धेरै शेर्पाहरुको जनसंख्या रहेको न्युयोर्कमा शेर्पा किदुगले हरेक वर्ष ल्होसार धुमधामका साथ आयोजना गर्दे आएको छ ।

ल्होसारको पहिलो ‘छेवा चि’को दिन किदुगले विगत केही वर्षदेखि बाटो नै बन्द गरेर भव्यताका साथ ल्होसार मनाउदै आइरहेको छ । यस पटक त न्युयोर्क सिटिका मेयर एरिक एडम्सनै उपस्थित भएर ल्होसारको रौनक थपे । कार्यक्रममा मेयर एरिकले न्युयोर्क सिटिभित्र असाध्यै व्यवस्थित र सक्रिय सामाजिक संस्था किदुगले न्युयोर्कमा नमुना कार्य गरेको भनि प्रशंसा समेत गरेका थिए । मेयर एरिकले ल्होसारको शुभकामना दिंदै समाजिक सेवाको भावनाले निकै अघि बढेको किदुंगलाई न्युयोर्क सिटिको तर्फबाट विशेष सम्मान समेत गरेका थिए । कार्यक्रममा उनीसँगै न्युयोर्क सिटिका अन्य जनप्रतिनिधिहरु समेत ल्होसारको शुभकामना दिन आइपुगेका थिए ।

किदुगले गुम्बा परिसरमा आयोजना गरिएको कार्यक्रममा विहानीपख धार्मिक पुजापाठसँगै दिउँसो सिंह नृत्य, धार्मिक नृत्य दोजीठालु प्रस्तुत गरेका थिए । कार्यक्रममा रिग्सुङ लोप्टाका कलाकाहरुको गीत तथा नृत्य प्रस्तुतीपछि उपस्थित सबै जना लाइन लागेर शेर्पा लोक नृत्य सेबु्र गरि ल्होसार भव्यताका साथ मनाएका थिए । ‘प्रवासमा शेर्पा जातिको भाषा, धर्म र संस्कृतिको जर्गेनासंगै विश्वशान्ति र कल्याणको लागी हरेक वर्ष झै यस पटक हामीले भव्यताका साथ ल्होसार मनायौ’ शेर्पा किदुगको अध्यक्ष छिरिङ शेर्पाले भने ‘यस पटकको ल्होसारमा न्युयोर्क सिटिको मेयर नै उपस्थित भएर सबैलाई शुभकामनासँगै किदुगलाई विशेष सम्मान गरेकोमा खुशीको अनूभुति भएको छ ‘ उनी शेर्पा किदुगमा दुई वर्ष सफल नेतृत्व गर्ने पहिलो महिला हुन् ।

तस्विरहरु : शेर्पा किदुग

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ९ : ०८ बजे