४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

‘कोशी’ खारेजी आन्दोलनमा घाइते लाजेहाङको निधन, सहिद घोषणा गर्न माग



प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू (लाजेहाङ) को निधन भएको छ।

‘कोशी’ हटाउनुपर्ने माग राखी यही चैत ५ गते विराटनगरमा भएको विरोध प्रदर्शनमा प्रहरीको कुटाइबाट घाइते भएका लाजेहाङको उपचारका क्रममा शुक्रबार बिहान धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा निधन भएको हो।

विराटनगरमा भएको जनप्रर्दशनका क्रममा निषेधाज्ञा तोडेर अगाडि बढेपछि सशस्त्र प्रहरीले लाठीचार्ज गर्दा उनी घाइते भएको प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ । बीपी प्रतिष्ठानको आईसीयूमा उपचारत लिम्बूको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लाने तयारी भइरहेका बेला निधन भएको हो ।

धरान–१५ का लिम्बूलाई सहिद घोषणा गर्न माग आन्दोलनकारीले माग गरेको छ ।

गत फागुन १७ गते प्रदेश १ को संसदले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले त्यसको विरोध गरेर आन्दोन जारी राखेका छन् । उनीहरुले त्यही बेलादेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रदेशभित्रका पहिचान पक्षधरहरुले संयुक्त संघर्ष समितिको गठन गरेर गरिरहेको आन्दोलनको क्रममा लाजेहाङ घाइते भएका हुन् ।

समितिले विज्ञप्ति जारी गरी भनेको छ, ‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढंगले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनु पर्दछ।’ हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न माग पनि गरेको छ ।

४२ वर्षीय लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टिएरका केन्द्रीय सह-कमान्डर थिए । ४२ वर्षीय लाजेहाङ २०५२ सालदेखि लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।

लाजेहाङको शव बीपी प्रतिष्ठानको शव गृहमा राखिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष अमर इजमका अनुसार उनको अन्तिम संस्कार परिवार तथा पार्टीको निर्णयअनुसार गरिनेछ । प्रदेशको नाम ‘कोशी’ राखिएकोप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले गरेको आन्दोलनका कारण कोशी प्रदेश अशान्त बन्दै गएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १२ : १५ बजे