मोबाइल एप्पलिकेशन ह्वाट्स एप र टेलिग्रामबाट करोडौं ठगी गरेको अभियोगमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बिजनेस गर्ने नाममा १० करोड बढी ठगीको अभियोगमा ९ चिनियाँ र १० नेपाली पक्राउ परेका हुन् ।
अनलाइनबाट ठगी गर्न उनीहरुले काठमाडौंका विभिन्न स्थानमा घर भाडामा लिएको खुलेको छ । उक्त अवैध कारोबारमा मुख्य रुपमा चिनियाँ नागरिकहरु संलग्न रहेको खुलेको छ ।
उनीहरुले अवैध रुपमा कार्यालय सञ्चालन गरी सामाजिक सञ्जाल ह्वाट्सएपमा विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाइनमार्फत बिजनेसबाट ठूलो रकम फाइदा हुने भन्दै ठगेको खुलेको छ ।
ठगीमा संलग्नहरुले टेलिग्राममा अप्रेसन टिचर नामक च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी विभिन्न प्रलोभनमा देखाएर ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।
प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उक्त ठगीमा प्रयोग गरिएका कयौँ विद्युतीय सामान पनि बरामद गरेको छ । उनीहरु अधिकांशलाई बूढानीलकण्ठ नरपालिका २ महादेवखोला र काठमाडौं महानगरपालिका चण्डोलबाट पक्राउ गरिएको हो ।