काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पहिले वाग्मतीलाई जगाउन आग्रह गर्दै त्यसपछि बल्ल लिपुलेक र लिम्पियधुरा जोगाउनु पर्ने बताएका छन् ।
उनले आफु वागमती सभ्यताको जगेर्ना गर्न कोशिसमा रहेको उल्लेख गर्दै पहिलो प्राथमिकतामा बागमती जोगाउने कार्य हुनुपर्ने पनि बताए ।
बुधबारदेखि राजधानीमा सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पहिला भएको सम्पती जोगाउनु पर्नेमा जोड दिए ।
‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ’ उनले भने, ‘हामी वाग्मती सभ्यता जोगाउन खोज्दैछौँ । यो मान्छेभन्दा अघिको सभ्यता हो । त्यसको लागि हिजो मात्रै अनुरोध गरेको थिएँ, पहिला भएका सम्पत्ति जोगाऊँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला।’
उनले सरकार परिवर्तन भइरहँदा काम गर्न अप्ठ्यारो परेको पनि बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित कार्यक्रममा सुझावको भाषामा भने, ‘यसपटकको सरकार केही समयलाई टिकाइदिनुस् । स्थानीय सरकार एक्लैले गर्न नसक्ने कामहरु धेरै छन्, सरकार टिकिदिए समन्वय गर्न सजिलो हुनेछ ।’
उनले स्थानीय सरकार पाँच वर्षका लागि भएपनि केन्द्रको सरकार नटिकिदिँदा गाह्रो हुने गरेको बताए ।