१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख



राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा असहज भइ अस्पतालमा भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।” राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना भएका थिए ।

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज विहान अस्पताल पुगेका थिए । साथै सांसद् सुरेन्द्र आचार्य, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवि अधिकारीले बताए ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुएका छन् । आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : १५ बजे